काठमाडौं: गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताउनुभएको छ ।
शनिवार तराई यातायात व्यवसायि संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उहाँले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायिको भुमिका अतुलनिय रहेको बताउनुभयो । उहाँले कृर्षि उत्पादनको बजारसम्म पहुँच,मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केहि प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरु छन ।” मन्त्री लेखकले भन्नुभयो–“तपाईहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।”
यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायिले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायि,मजदुर र साधन सुरक्षाका सवाल रहेको उहाँको भनाई थियो । “विभिन्न समस्याका बावजुत पनि राम्रोसंग सेवा दिई रहनुभएको छ,तपाईहरुले राम्रो गर्दागदैपनि केहि कमिकमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायिहरुले भाडादरमा पारदर्शिताको अभाव,सेवाको गुणस्तरमा कमी,यात्रु सुरक्षामा लापरवाही,हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति,प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।
”उहाँले आफु २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसंग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । “हिजोमात्र मैले काठमाडौंमा यातायातसंग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसंग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौ ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायिले उठाएका विषय महत्वपूर्ण छन र आगामी दिनमा हुने छलफलमा यि कुराहरुलाई समाधान गर्ने तर्फ पहल गर्ने छु ।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend