logo

२०८३ साउन १३ बुधबार

थारू संस्कृति जगेर्नाको केन्द्र ‘भादा होमस्टे’, देशकै उत्कृष्टको मानपात्र

थारू संस्कृति जगेर्नाको केन्द्र ‘भादा होमस्टे’, देशकै उत्कृष्टको मानपात्र


हाम्रो राष्ट्र
  • बिहिबार, २५ बैशाख २०८२
  • 2.2K
    SHARES

    धनगढी:  मौलिक थारू कला र संस्कृतिको सजीव नुमुना बोकेको कैलालीको भादा गाउँ, जुन खुलेरूपमा थारू संस्कृति झल्काउने सङ्ग्रहालयसरह छ, यस वर्ष नेपालकै उत्कृष्ट होमस्टे घोषित भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिले सन् २०२५ का लागि ‘श्रेष्ठ होमस्टे’ को उपाधि भादा गाउँलाई प्रदान गर्दै एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित गरेको हो।

    धनगढी उपमहानगरपालिका–१६ मा अवस्थित भादा गाउँमा सन् २०१० (वि.सं. २०६७) देखि होमस्टे सेवा सुरु गरिएको हो। यो गाउँ विशुद्ध थारू समुदायले बसोबास गर्ने क्षेत्र हो, जहाँका स्थानीय बासिन्दाले आफ्नो परम्परागत नृत्य, गीत, भेषभूषा र परिकारमार्फत पाहुनालाई स्वागत गर्ने परम्परा विकसित गरेका छन्।

    थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार, “समितिले निर्धारण गरेका सबै मापदण्ड पूरा गर्न सफल भएकाले हामीले यो सम्मान प्राप्त गरेका हौं।” हाल गाउँका २० घरमा होमस्टे सेवा सञ्चालनमा छन्। धनगढीबाट करिब १८ किलोमिटर दूरीमा रहेको यो गाउँमा, विशेषगरी थारू परिकारको स्वाद लिन र मौलिक संस्कृतिको अनुभव गर्न पर्यटकको आवागमन बाक्लिएको पाइन्छ।

    थारू समुदायको समृद्ध सांस्कृतिक सम्पदा जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय यो गाउँले डेढ दशक लामो यात्रामा मौलिकता जोगाउँदै आएको छ।

    भादा अब केवल होमस्टे गाउँ मात्र नभई, संस्कृति सहेज्ने उदाहरणीय नमुना बनेको छ। त्यसैगरी, बर्दियाको डल्ला होमस्टे दोस्रो स्थानमा रहेर ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो भने, तेस्रो स्थानमा परेको काठमाडौँको हाँडीगाउँ होमस्टेले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend