काठमाडौं, कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (KOICA) ले नेपालमा विकास साझेदारीका ३० वर्ष पुरा गरेको अवसरमा “Together for 30 Years: A Journey of Trust and Cooperation” शीर्षकमा विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा कोइकाले आगामी वर्षका लागि रणनीतिक प्राथमिकताहरूसहित तीन महत्वपूर्ण परियोजना सम्झौता सम्पन्न गर्यो। पहिलो सम्झौता वित्त मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङबीच गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना सम्बन्धी थियो। करिब ९ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यो परियोजना २०२५ देखि २०३० सम्म कार्यान्वयन गरिनेछ।
त्यसपछि १०–१० मिलियन अमेरिकी डलर लागत अनुमानित दुई परियोजनाका लागि Record of Discussion मा हस्ताक्षर गरियो। लुम्बिनी प्रदेशमा लागू हुने भ्यालु चेन डेभलपमेन्ट परियोजना (फेज II) २०२५ देखि २०३१ सम्म सञ्चालन हुनेछ। यसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरि बहादुर केसी र कोइका नेपाल देश निर्देशक मूहोन कोङले हस्ताक्षर गरे। त्यस्तै सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट<span;> स्थापना परियोजना २०२५ देखि २०३० सम्म कार्यान्वयन गरिनेछ। यस सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका देश निर्देशकले हस्ताक्षर गरे।
समारोहमा बोल्दै कोइका नेपालका देश निर्देशक मूहोन कोङले नेपालसँगको कोइकाको लामो साझेदारी र समावेशी तथा दिगो विकासप्रतिको प्रतिबद्धता दोहोर्याए। उनले शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा क्षमता विकास र नवप्रवर्तनमा कोइकाको ध्यान रहेको उल्लेख गरे।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले कोइकाले विगत तीन दशकमा शिक्षादेखि स्वास्थ्य र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै भविष्यमा थप गहिरो सहकार्य गर्ने नेपालको प्रतिबद्धता व्यक्त गरे।
कोरियाली राजदूत पार्क ते–यङले कोइकाको ३० वर्षे यात्रा नेपाल–कोरिया मित्रता र विश्वासको प्रतीक भएको उल्लेख गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने आश्वासन दिए।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोइकाको महत्वपूर्ण योगदानप्रति आभार व्यक्त गर्दै नेपालका राष्ट्रिय विकास लक्ष्यसँग मेल खाने कार्ययोजना अघि बढाउन सरकार सधैं तयार रहेको बताए।
सन् १९९१ देखि कोइका नेपालको प्रमुख विकास साझेदार बनेको छ। स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, सूचना प्रविधि, ग्रामीण विकास र पर्यटनजस्ता क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको कोइकाले अहिलेसम्म २,९२१ स्वयम्सेवक खटाएको छ र २,२३० भन्दा बढी नेपाली अधिकारीलाई विभिन्न तालिम अवसर प्रदान गरेको छ। नेपाललाई सन् २०१० मा प्राथमिकता देशका रूपमा घोषणा गरेपछि कोइकाको सहयोग उल्लेख्य बढेको छ, र सन् २०२५ सम्ममा यसको कुल सहायता २०० मिलियन अमेरिकी डलर नाघेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend