यूके–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिपलाई ब्रिटिश काउन्सिलको ग्लोबल अवार्ड
लन्डन/काठमाडौं, अक्टोबर २८, २०२५
यूके–नेपाल इन्टरनेशनल स्किल्स पार्टनरशिपले ब्रिटिश काउन्सिल गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड २०२५ प्राप्त गर्दै विश्वभरका पाँच उत्कृष्ट परियोजनामध्ये एकको रूपमा मान्यता पाएको छ। लन्डनमा सम्पन्न ‘गोइङ ग्लोबल २०२५’ सम्मेलनका क्रममा यो अवार्ड घोषणा गरिएको हो।
नेपालतर्फबाट शिक्षा सचिव चूडामणि पौडेलले नेपाली साझेदारहरूको तर्फबाट अवार्ड ग्रहण गरे। अवार्ड प्राप्त गर्दै उनले यूके र नेपालबीचको “उत्कृष्ट सहकार्य र भविष्यका लागि आवश्यक सीप विकासप्रति साझा प्रतिबद्धता” को मान्यता अन्तर्राष्ट्रिय स्तरमै प्राप्त भएको बताए। उनले हरित अर्थतन्त्रतर्फ नेपाललाई अघि बढाउन यो साझेदारीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यूकेका विभिन्न शैक्षिक संस्थाहरू र नेपालका प्रमुख संगठनहरू—एफएनसीसीआई, सिटिइभिटी लगायत—को सहभागिता रहेको यो साझेदारीलाई ब्रिटिश काउन्सिलले समन्वय र प्राविधिक सहयोग पुर्याउँदै आएको छ। परियोजनाले नेपालको हरित सीप (Green Skills) प्रणालीलाई व्यवस्थित र शक्तिशाली बनाउने दिशामा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ।
यसै क्रममा परियोजनाले ग्रीन स्किल्स एड्भाइजरी बोर्ड (GSAB) स्थापना गर्न सरकारलाई सहयोग गरेको छ। उक्त बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (MoEST), CTEVT, FNCCI, CNI तथा FCAN का प्रतिनिधिहरू सम्मिलित छन्। GSABले नीति निर्माण, निजी–सार्वजनिक समन्वय, उद्योगसँगको सहकार्य र नेपालमा हरित रोजगारका लागि आवश्यक सीप विकासमा मार्गनिर्देशन गर्ने लक्ष्य राखेको छ।
ब्रिटिश काउन्सिल नेपालका देश निर्देशक रस्ट्रम मोडीले यो साझेदारी “सार्वजनिक–निजी सहकार्यको प्रभावकारी शक्तिको उत्कृष्ट उदाहरण” भएको बताए। उनका अनुसार, यसले टिकाउ विकास, सीपसम्बन्धी नवीन सोच, र भविष्यका रोजगारीका मागअनुसार युवाहरूलाई तयार पार्ने काममा महत्वपूर्ण प्रभाव पारेको छ।
गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड विश्वभरका ती परियोजनाहरूलाई प्रदान गरिन्छ, जसले सस्टेनेबल डेभलपमेन्ट गोल्स (SDGs) सँग प्रत्यक्ष रूपमा सम्बद्ध गरी शिक्षा र सीप विकासमा उल्लेखनीय योगदान दिएका हुन्छन्। यस वर्ष पाकिस्तान, चीन, इजिप्ट र नाइजीरियाका साझेदारी परियोजनाहरू पनि अवार्डबाट सम्मानित भएका छन्।
यो अवार्डले नेपाललाई हरित सीप, प्राविधिक शिक्षा, रोजगारीमूलक तालिम र श्रम बजारका मागअनुसारको कौशल विकासमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ। नवीकरणीय ऊर्जा, दिगो निर्माण, जलवायु–स्मार्ट कृषि जस्ता क्षेत्रका लागि आवश्यक जनशक्ति विकासमा यो साझेदारीले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपाल र यूकेबीचको निरन्तर सहकार्यमार्फत भविष्यमा नेपाललाई दक्षिण एसियामा हरित सीप विकासको सफल उदाहरणको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend