logo

२०८३ साउन १४ बिहिबार

पाब्सन ललितपुर जुनियर चेसमा भ्याली पब्लिक अग्रस्थानमा

पाब्सन ललितपुर जुनियर चेसमा भ्याली पब्लिक अग्रस्थानमा


हाम्रो राष्ट्र
  • शनिबार, ७ मंसिर २०८२
  • 3.2K
    SHARES

    ललितपुर: निजी तथा आवासीय विद्यालय संगठन (पाब्सन) ललितपुरद्वारा आयोजित अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खुस्थित श्रीकुल स्कुलमा सुरु भएको छ।

    ललितपुरका २५ विद्यालयका ६८ जना विद्यार्थी खेलाडीको सहभागिता रहेको यो दुईदिने प्रतियोगितामा सीनियर ब्वाइज, सीनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी चार समूहमा प्रतिस्पर्धा भइरहेको आयोजकले जानकारी दिएको छ।

    सिनियरतर्फ फ्युचर स्टार स्कुलका शुभ श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण ४ अंकका साथ अविजित अग्रस्थान हासिल गरेका छन्।

    त्यस्तै, विलियम पब्लिक स्कुलका रिक्की महर्जन, पाठशाला स्कुलका ओस्कार पन्थी र प्याराडाइज स्कुलका प्रणव पाण्डेले समान ३.५ अंक जोडेर संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्।

    भ्याली पब्लिक स्कुलका शैलेश बस्नेत, माउण्ट ओलिभ स्कुलका सन्दीप श्रेष्ठ र नाजररेट स्कुलका विश्वराज रायले ३–३ अंकसहित संयुक्त तेस्रो स्थान ओगटेका छन्।

    जुनियर ब्वाइज समूहमा भ्याली पब्लिक स्कुलका प्रतिक ढुंगेल, विलियम पब्लिक स्कुलका सोयस राई र जुगल स्कुलका निकेश राउत तीनै जनाले समान ३.५ अंक जोड्दै शीर्ष स्थानमा बराबरी कायम राखेका छन्।

    सिनियर गर्ल्स समूहमा आदर्श विद्या सदनकी कृषा खतिवडा ३ अंकसहित अग्रस्थानमा छिन् भने नाजरत स्कुलकी अनुष्का श्रेष्ठ र विलियम पब्लिक स्कुलकी कृतिका लामा २.५–२.५ अंकका साथ पछ्याइरहेका छन्।

    जुनियर गर्ल्स समूहमा श्रीकुल स्कुलकी प्रकृति थापा र फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ ३–३ अंक जोड्दै संयुक्त शीर्ष स्थानमा छन्।

    यस समूहमै आदर्श विद्या सदनकी सबिना श्रेष्ठ र प्रेरणा स्कुलकी जोया राईले २–२ अंकसहित प्रतिस्पर्धा जारी राखेका छन्।

    प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय संगठन (पाब्सन) ललितपुरका अध्यक्ष ताराप्रसाद खनालले बुद्धिचाल जस्तो बौद्धिक खेल विद्यालयहरूमा विस्तार गर्न गरिएको प्रयास सफल भएको बताएका छन्।

    उनका अनुसार, “विद्यार्थीहरू बुद्धिचाल खेलमार्फत तिक्ष्ण बुद्धि, स्मरणशक्ति, कार्ययोजना निर्माण, अनुशासनजस्ता महत्वपूर्ण गुणहरू सिक्ने भएकाले प्रत्येक विद्यालयले यसलाई पाठ्यक्रममा समावेश गर्दै अगाडि बढ्नुपर्छ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend