अस्ट्रेलिया: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यरत अवस्थामा विवाह गरी देशको १२४ वर्षे राजनीतिक इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन्। ६२ वर्षीय प्रधानमन्त्री अल्बानिजले शनिबार ४६ वर्षीया आफ्नी पार्टनर जोडी हेडेनसँग औपचारिक विवाह सम्पन्न गरेका हुन्।
अल्बानिज र हेडेनको पहिलो भेट सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यावसायिक डिनरका दौरान भएको थियो। त्यसयता उनीहरूबीचको सम्बन्ध विश्वास, समझदारी र निकटतासँग अघि बढ्दै गएको थियो। दुवैले फेब्रुअरी २०२४ मा इन्गेजमेन्ट घोषणा गर्दै वैवाहिक जीवनमा प्रवेश गर्ने तयारी गरेको सार्वजनिक गरेका थिए।
यो अल्बानिजको दोस्रो विवाह हो। उनले सन् २०१९ मा पहिलो पत्नी कार्मेल टेबर्डसँग १९ वर्ष लामो दाम्पत्य जीवनपछि सम्बन्धविच्छेद गरेका थिए। हेडेनको पनि यो दोस्रो विवाह हो, यद्यपि उनको पहिलो वैवाहिक जीवनबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवविवाहित जोडीले सोमबारदेखि शुक्रबारसम्म हनिमुन मनाउने योजना बनाएका छन्। हनिमुनका सम्पूर्ण खर्च आफूहरूले नै व्यहोर्ने जानकारी स्रोतहरूले दिएका छन्।
विवाहपछि प्रधानमन्त्री अल्बानिजले व्यक्तिगत जीवनमा नयाँ अध्याय सुरु गरेका छन्। कार्यकालमै वैवाहिक बन्धनमा बाँधिएको यो कदमले राजनीतिक वृत्तदेखि आम नागरिकसम्म ठूलो चासो र चर्चा पैदा गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend