logo

२०८३ साउन १३ बुधबार

युवापुस्ताको बुद्धिचाल प्रतिभा खोज्दै ट्रङ्ग्राम इन्टरनेशनलको अन्तर्राष्ट्रिय प्रतियोगिता

युवापुस्ताको बुद्धिचाल प्रतिभा खोज्दै ट्रङ्ग्राम इन्टरनेशनलको अन्तर्राष्ट्रिय प्रतियोगिता


हाम्रो राष्ट्र
  • मंगलबार, १७ मंसिर २०८२
  • 2.1K
    SHARES

    काठमाडौं: काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० स्थित स्टार होटल रोयल आस्टोरियामा १७ देखि १९ मंसिरसम्म चल्ने दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय चेस च्याम्पियनसिप का सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

    ट्रङ्ग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा नेपाल, भारत र श्रीलंकासहित तीन देशका ४४५ विद्यार्थी खेलाडी सहभागिता जनाउने पक्का भएको छ। विद्यार्थीबीच चेस खेलको उदाउँदो प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता युवा–१०, युवा–१३ र युवा–१७ गरी कुल ६ विधामा सञ्चालन हुनेछ।

    विजेताका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने छात्र–छात्राले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार, साथै शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल नगद पुरस्कार ३ लाख रुपैयाँ रहनेछ भने आवास, खाना र व्यवस्थापनसहित करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    टिआइएकी प्रिन्सिपल नीरा प्रधानका अनुसार विदेशी चेस खेलाडी सहित नेपालका सबै ७ प्रदेशबाट विद्यार्थी सहभागी हुनु नै प्रतियोगिताको ठूलो सफलता हो। चेस खेललाई पेशागत रूपमा अगाडि बढाउन प्रेरक हुनेगरी उच्च पुरस्कार राशि राखिएको सिइओ कर्मा सोनाम वाङ्दी शेर्पाले बताए।

    प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले गर्नेछन्। समापन तथा पुरस्कार वितरण कार्यक्रम खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न हुने संयोजक उज्जवल रिजालले जानकारी दिए।

    मुख्य निर्णायक मिशन बास्कोटाका अनुसार खेल सञ्चालनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त स्वीस लिग प्रणाली अपनाइनेछ र जोडी मिलान तथा व्यवस्थापनका लागि Swiss Manager सफ्टवेयर प्रयोग गरिनेछ।

    प्रतियोगिताको मिडिया पार्टनर प्राइम टेलिभिजन रहनेछ भने प्रचार प्रसारमा बुद्धिचाल महासंघ प्रचार विभाग सहयोगी रहनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend