ललितपुर: ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप का सबै तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी दिएका छन्। आइतबारदेखि शुरु हुने यो प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।
यसपटकको टिम च्याम्पियनसिपमा २ हजार रेटिङभन्दा माथिको एकसहित पाँच खेलाडी रहने गरी प्रतिस्पर्धा हुनेछ।
नेपालभरका २४ टिम ले सहभागिता सुनिश्चित गरिसकेका छन्। सहभागी टिममध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होमलगायतका टोली रहेका छन्।
त्यस्तै भक्तपुर, सप्तरी, मध्यपुर, कास्की, कोशी, सुदूरपश्चिम, पाँचथर, मेचीसहितका जिल्ला/नगरपालिकाका बुद्धिचाल संघ,
युथ स्टेप्स टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौँ चेस क्लब, पुल्चोक चेस क्लब, ललितपुर चेस क्लब तथा दोलखा जिल्ला बुद्धिचाल संघ पनि प्रतिस्पर्धामा सहभागी हुनेछन्।
प्रतियोगिता ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन हुनेछ। प्रतिस्पर्धाका विजेताले नगद २ लाख प्राप्त गर्नेछन्। उपविजेताले १ लाख, तृतीयले ६० हजार र चौथो टिमले ४० हजार पुरस्कार पाउनेछन्।
यस्तै पाँचौँदेखि सातौँ स्थानसम्मका टिमले समान २० हजार र उत्कृष्ट पाँच व्यक्तिगत खेलाडीले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा प्रतियोगिता निरन्तरता पाइरहेको उल्लेख गर्दै, प्रतियोगितालाई थप प्रभावकारी रुपमा प्रसारण गर्न सबै सञ्चारकर्मीहरुलाई सहयोग पुर्याउन आग्रह गरे।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend