काठमाडौं, पुस २२— तिनकुने, काठमाडौंस्थित विनायक सुधा (V.S.) निकेतन सेकन्डरी स्कूलमा कक्षा ११ (साइन्स तथा म्यानेजमेन्ट) का नयाँ विद्यार्थीहरूको स्वागतार्थ “Welcome Program – 2082” आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम स्कूलकी अध्यक्ष उर्मिला पोखरेल सहित संस्थागत नेतृत्व टोलीको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रमको औपचारिक उद्घाटन स्कूलकी अध्यक्ष उर्मिला पोखरेलबाट दियो बालेर गरिएको थियो। त्यसपछि राष्ट्रिय गानपछि स्कूलका प्रिन्सिपल रञ्जित पण्डितले स्वागत सम्बोधन गर्दै नयाँ शैक्षिक यात्रा सुरु गर्ने सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरे।
कलेज म्यानेजर श्रीमती बिजया प्रधानले स्वागत मन्तव्य दिँदै विद्यार्थीलाई अवसर र जिम्मेवारी सँगै अघि बढ्न प्रेरित गरिन्। त्यस्तै संस्थापक निर्देशक डा. बाबिन पोखरेलले प्रेरणादायी सम्बोधन गर्दै युवाहरूलाई लक्ष्यप्रति प्रतिबद्ध र अनुशासित रहन सुझाव दिए।
कार्यक्रमको दोस्रो चरण साँगीतिक, नृत्यात्मक तथा सांस्कृतिक प्रस्तुतीमा केन्द्रित थियो। विद्यार्थीहरूले ‘पछिम पूर्वा घर’, ‘राम सैली (रिमिक्स)’, ‘काफ्ले (रिमिक्स)’, ‘सधैं सधैं’, ‘मेरसिडिज बेन्ज’, ‘चान्बा ओइ चान्बा’ लगायतका लोकप्रिय गीतमा नृत्य तथा गीत प्रस्तुत गरे। अन्त्यतिर ‘Astitwa Band’ को प्रस्तुतीले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।
उप–प्रिन्सिपल श्रीमती बन्दना लामाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको आधिकारिक समापन घोषणा गरिन्। करिब १ घण्टा ३० मिनेट लामो कार्यक्रम उत्साह, कला, आत्मविश्वास र प्रतिभा प्रदर्शनले भरिपूर्ण रहेको थियो।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend