ललितपुर: ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा जारी ८औँ तुल्सीलाल स्मृति टिम चेस च्याम्पियनसिपको दोस्रो दिन महालक्ष्मी नगरपालिका टिमले उत्कृष्ट प्रदर्शनका साथ पूर्ण अंक जोडेर अग्रस्थानमा उक्लन सफल भएको छ।
महालक्ष्मी नगरपालिका टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४–० ले पराजित गर्दै शानदार सुरुवात गर्यो। दोस्रो चरणमा पेभिलियन चेस एकेडेमीलाई पनि ४–० ले पन्छाउँदै टिमले लगातार दुई क्लिन–स्विप नतिजा आफ्नो नाममा दर्ता गर्यो।
टिमका खेलाडी एफएम क्षितिज भण्डारी, सुरोज महर्जन, अशोक मोहन श्रेष्ठ, शैलेन्द्र न्यौपाने र कमल श्रेष्ठले दुवै चरणमा उत्कृष्ट खेल प्रदर्शित गर्दै ४ अंक र टाइब्रेक ८ प्वाइन्टसहित शीर्ष स्थानमा पुगे।
त्यसैगरी, पूर्व विजेता थापाथली चेस पार्कले पनि समान ४ अंक जोड्दै टाइब्रेक ७.५ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहेको छ। थापाथलीले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४–० तथा दोस्रो चरणमा कास्की जिल्ला संघलाई ३.५–०.५ ले पराजित गरेको थियो।
ललितपुर महानगरपालिका टिम ४ अंक र टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थानमा रह्यो। महानगरपालिकाले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३–१ र दोस्रो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४–० ले पराजित गर्यो।
प्रतिस्पर्धामा दोलखा जिल्ला संघ ४ अंक र टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रह्यो भने दोलखा चेस होम्स ४ अंक र टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौँ स्थानमा छ।
दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४–० र मध्यपुर थिमीलाई २.५–१.५ ले हरायो। उता, दोलखा चेस होम्सले गोदावरी नगरपालिका र काठमाडौं जिल्ला संघ दुवैलाई २.५–१.५ को स्कोरमा पराजित गर्यो।
प्रतियोगिताको उद्घाटन बाग्मती गाउँपालिकाका अध्यक्ष बीरबहादुर लामा र ललितपुर महानगरपालिका–२० का अध्यक्ष चन्द्र महर्जनले संयुक्त रूपमा गरेका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend