ललितपुर: ललितपुरमा जारी ८औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको चौथौं चरणसम्म आइपुग्दा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले समान प्रदर्शन गर्दै उपाधिमा बलियो दाबी प्रस्तुत गरेका छन्।
चार चरणको खेल सकिँदा ती तीनै टोलीले ३ जित र १ बराबरी सहित ७–७ अंक जोड्दै शीर्ष स्थानको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक बनेको छ।
महालक्ष्मी नगरपालिकाले तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४–० ले पाखा लगाएको थियो। क्षितिज भण्डारी, सुरोज महर्जन, शैलेन्द्र न्यौपाने र अशोक मोहन श्रेष्ठ सबैले आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेका थिए।
चौथो चरणमा महालक्ष्मीले ललितपुर महानगरपालिकासँग २–२ को बराबरी खेलेको थियो।
ललितपुर महानगरपालिकाको टिमले यसअघि थापाथली चेस पार्कलाई ३.५–०.५ ले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। पुरुषोत्तम सिलवाल, महानरसिंह श्रेष्ठ र धिरेन राई विजयी बनेका थिए भने प्रकाश चन्द्र नेपालको खेल बराबरीमा टुंगिएको थियो।
दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम्स्लाई २.५–१.५ ले पराजित गरेको थियो। निकेन कुसाथा र बद्रीलाल नेपाली विजयी बने भने कृष्ण थापाको खेल बराबरीमा टुंगिएको थियो। चौथो चरणमा दोलखा टिमले थापाथली चेस पार्कसँग २–२ को बराबरी खेलेको थियो।
यस प्रतिस्पर्धामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स्ले ६–६ अंक जोडेर क्रमशः चौथो र पाँचौं स्थानमा उभिएका छन्।
त्यस्तै थापाथली चेस पार्क र सुदूरपश्चिम चेस संघले ५–५ अंक सहित पछ्याइरहेका छन्।
खेल सुरु हुनुअघि स्थानीय खेलप्रेमी तथा सम्झना ल्याबोरोटोरीका प्रमुख उर्दीप जोशीले सेतो गोटी चाल्दै चौथो चरणको प्रारम्भ गराएका थिए।
प्रतियोगिताका विजयी टोलीले ५ लाख १० हजार रुपैयाँ पुरस्कार बाँडेर पाउनेछन्।
सात चरणको लिग खेलपछि २५ गते विजयी टोली घोषणा हुने आयोजकले बताएका छन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend