logo

२०८३ साउन १३ बुधबार

दोलखाको शानदार प्रदर्शन, उपाधिमा अब कडा प्रतिस्पर्धा

दोलखाको शानदार प्रदर्शन, उपाधिमा अब कडा प्रतिस्पर्धा


हाम्रो राष्ट्र
  • बुधबार, २५ मंसिर २०८२
  • 2.8K
    SHARES

    ललितपुर:  ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेको छ। अन्तिम चरणको खेलबाटै उपाधिको छिनोफान हुने निश्चित भएको छ। ललितपुरको क्यास्पियन कलेजमा जारी प्रतियोगिताको छैंटौं चरणमा शीर्ष चार टिमबीच कडा प्रतिस्पर्धा देखियो।

    पहिलो टेबलमा महालक्ष्मी नगरपालिका टिमलाई दोलखा चेस होम्सले २.५–१.५ को स्कोरमा पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। यस जितसँगै दोलखा चेस होम्सले १० अंक जोड्दै उपाधि दावामा बलियो स्थितिमा उभिएको छ।

    दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईंले दोस्रो बोर्डमा सुरोज महर्जनलाई पराजित गर्दै महत्वपूर्ण १ अंक जोडे। अन्य खेलाडी रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले क्षितिज भण्डारी, कमल श्रेष्ठ र अशोक मन श्रेष्ठसँग बराबरी खेल्दै टोलीका लागि मूल्यवान् अर्ध–अंक सुरक्षित गरे।

    दोस्रो टेबलमा पनि दोलखाकै प्रभुत्व देखियो। दोलखा जिल्ला संघले ललितपुर महानगरपालिका टिमलाई २.५–१.५ ले स्तब्ध पार्दै १० अंकमा संयुक्त अग्रता बनाएको छ।

    दोलखाका बद्रीलाल नेपालीले चौथो बोर्डमा धिरेन राईलाई पराजित गर्दै टिमका लागि निर्णायक अंक जोडे। रिसोन थापा, कृष्ण थापा र मिलेन कुसाथाले पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल र मुहान नरसिंह श्रेष्ठसँग बराबरी खेल्दै टिमलाई वाञ्छित नतिजातर्फ डोरे।

    इसअघि पाँचौं चरणमा महालक्ष्मी नगरपालिका र दोलखा जिल्ला संघबीचको प्रतिस्पर्धा २–२ को बराबरीमा टुंगिएको थियो। त्यसमध्ये बोर्ड नं. १ मा क्षितिज भण्डारीले रिसोन थापालाई पराजित गरे भने बोर्ड नं. ३ मा शैलेन्द्र न्यौपाने मिलेन कुसाथासँग पराजित भएका थिए। बोर्ड २ र ४ का खेलहरू बराबरीमा सकिएका थिए।

    अर्को रोमाञ्चक खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिका टिमलाई झट्का दिंदै ४–० को सहज जीत दर्ता गर्यो।

    रुपेश जैसवाल, पुरुषोत्तम चौलागाईं, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले आफ्ना प्रतिद्वन्द्वी पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल, मुहान नरसिंह श्रेष्ठ र धिरेन राईलाई पराजित गरेका थिए।

    साबेक विजेता थापाथली चेस पार्कले पनि उत्कृष्ट प्रदर्शन जारी राखेको छ। ६ खेलमा चार जीत, एक बराबरी र एक हारसहित उनीहरूले ९ अंक जोडेर तेस्रो स्थान कायम राखेका छन्।

    थापाथलीका सुश्रुत दहाल, सुशील चौधरी, आशिष फुयाल र सबिनचन्द्र घिमिरेले क्रमशः राजेश कक्षपति, विनय थापा, झिल्के मोक्ताङ र अभय सिंह थापालाई पराजित गर्दै टोलीलाई प्रतिस्पर्धामा टिकाइरखे।

    प्रतियोगिताको सातौं तथा अन्तिम चरण बिहीबार बिहान ९ बजे सुरु हुनेछ। खेल सम्पन्न भएपछि ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको संयोजक राजु ताम्राकारले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend