ललितपुर: नेपालमा पहिलो पटक दृष्टिविहिन चेस खेलाडीहरूका लागि आयोजना गरिएको “पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२” शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल त्रिविसा संस्था र पभिलियन चेस एकेडेमीले संयुक्त रूपमा आयोजना गरेका हुन्। प्रतियोगिताको उद्घाटन पूर्व नेपालका लागि जर्मन राजदूत महामहिम युडो भल्स र नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्त रूपमा गरेका छन्।
राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा सुरु भएको प्रतियोगितामा ल्याबोरेटरी स्कूल (किर्तिपुर), नमुना मच्छिन्द्र उच्च मा.वि. (लगनखेल), सञ्जीवनी उच्च मा.वि. (धुलिखेल), पृथ्वीनारायण उच्च मा.वि. (तारकेश्वर), आदर्श सेकेन्डरी स्कुल (सानो ठिमी) तथा अपाङ्ग सेवा संघ (बुङ्मती) का विद्यार्थीहरूको सहभागिता रहेको छ।
स्विस लिग प्रणाली अन्तर्गत ६ चरणमा सञ्चालन हुने प्रतियोगितामा ४९ जना दृष्टिविहिन विद्यार्थी खेलाडीहरूले औँलाको स्पर्शबाट काठको चेस बोर्डमा चाल चल्नेछन्।
उद्घाटन समारोहमा जर्मन राजदूत भल्सले चेस खेलले दृष्टिविहिन बालबालिकाको स्मरण शक्ति वृद्धि, धैर्यताको विकास, मानसिक स्थिरता कायम राख्न तथा विषयकेन्द्रित सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनले पभिलियन चेस एकेडेमीले सयौँ बालबालिकालाई चेस प्रशिक्षण दिँदै जुनियर राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिरहेको जानकारी गराए।
गैरनाफामूलक नेपाल त्रिविसा संस्थाका सञ्चालन रमिला पोखरेलका अनुसार संस्थाले अपाङ्ग, सडक बालबालिका, कमजोर विद्यार्थी, अनाथालय, गुम्बा तथा विभिन्न समुदायमा सामाजिक कार्य गर्दै बुद्धिचालको पहुँच विस्तारमा सक्रिय भूमिका निभाउँदै आएको छ।
शुक्रबार प्रतियोगिताका दुई चरणका खेल सम्पन्न भएका छन् भने बाँकी चार चरण शनिबार सम्पन्न हुनेछन्। त्यसपछि प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा अपराह्न ४ बजे हुने कार्यक्रम संयोजक सुशील चौधरीले जानकारी दिएका छन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend