logo

२०८३ साउन १५ शुक्रबार

विज्ञापन व्यवसाय सुदृढ बनाउने लक्ष्यसहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो साधारण सभा सम्पन्न

विज्ञापन व्यवसाय सुदृढ बनाउने लक्ष्यसहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो साधारण सभा सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, ६ पुष २०८२
  • 3K
    SHARES

    काठमाडौं :  राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा विज्ञापन क्षेत्रसँग सम्बन्धित नीतिगत चुनौती, व्यवसायिक सुरक्षा र संघको भावी सांगठनिक दिशामाथि केन्द्रित गहन छलफलसहित सम्पन्न भएको छ।

    संघका अध्यक्ष प्रदीप प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सभामा विज्ञापन व्यवसायलाई व्यवस्थित, मर्यादित र दीगो बनाउँदै लैजानुपर्ने विषयमा विशेष जोड दिइयो। सभालाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले संघ स्थापना भएयता देशले प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता तथा विभिन्न सामाजिक आन्दोलनजस्ता प्रतिकूल अवस्थाहरू भोग्नुपरेको उल्लेख गरे। ती परिस्थितिले विज्ञापन व्यवसायमा प्रत्यक्ष असर पारे पनि व्यवसायीहरूले धैर्य, संयमता र दृढताका साथ निरन्तरता दिएकोमा उनले प्रशंसा गरे। कठिन समयमै पनि व्यवसाय जोगाउँदै अघि बढ्न सफल भएको भन्दै उनले सबै व्यवसायीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गरे।

    कार्यक्रमका प्रमुख अतिथि तथा संघका संस्थापक एवं निवर्तमान अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले राज्यका तर्फबाट विज्ञापन व्यवसायमाथि अनावश्यक नियन्त्रण गर्ने प्रयासप्रति असन्तुष्टि व्यक्त गरे। व्यवसायीको हक–हितमा प्रतिकूल असर पार्ने कुनै पनि नीति वा निर्णयविरुद्ध संघ कानुनी बाटोसमेत अपनाउन तयार रहेको उनको स्पष्ट भनाइ थियो।

    साधारण सभाले संघको विधान संशोधन गर्दै ‘नान’ को संगठन सातै प्रदेशमा विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। महासचिव विमल खड्काका अनुसार अब प्रत्येक प्रदेशमा संघका कार्यालय स्थापना गरिनेछ। हाल १०५ सदस्य आबद्ध रहेको संघले चालू आर्थिक वर्षभित्र सदस्य संख्या १५० पुर्‍याउने लक्ष्य पनि तय गरेको छ।

    सभामा कोषाध्यक्ष अरुण अर्यालले संस्थाको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए। त्यस्तै, प्रथम उपाध्यक्ष अमृत पन्थी र द्वितीय उपाध्यक्ष आशिष खड्काले विज्ञापन क्षेत्रलाई अझ व्यावसायिक, व्यवस्थित र मर्यादित बनाउँदै लैजान संघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

    औपचारिक कार्यक्रमपछि आयोजित पिकनिक कार्यक्रममा सहभागी विज्ञापन व्यवसायीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान र आत्मीयता अभिवृद्धि गर्ने अवसर सिर्जना भएको संघले जनाएको छ। विज्ञापन क्षेत्रलाई थप सशक्त बनाउने, विद्यमान कमजोरी सुधार गर्दै अघि बढ्ने तथा व्यवसायीको हक–हित संरक्षण, सीप विकास र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको जनाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend