ललितपुर — माछापुच्छ्रे आईबी वर्ल्ड स्कुल, कुसुन्ती ले कक्षा–३ का विद्यार्थीहरूको ‘क्लास डे प्रोग्राम’ भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक सुरुवात विद्यालयका प्राचार्य होमनाथ आचार्य को स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत सम्बोधनमा प्राचार्य आचार्यले बालबालिकाको समग्र विकासमा सिर्जनात्मक गतिविधि, संस्कार र विश्वस्तरीय शिक्षाको महत्वमाथि प्रकाश पार्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका शिक्षा महाशाखाका निर्देशक देबी प्रसाद पौडेल ले विद्यार्थीहरूको प्रस्तुतिलाई प्रशंसा गर्दै बालमैत्री शिक्षा, व्यवहारिक सिकाइ र अभिभावक–विद्यालय सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलले अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई स्थानीय सन्दर्भसँग जोड्दै उदाहरणीय काम गरिरहेको बताउनुभयो।
कक्षा–३ का विद्यार्थीहरूले स्वागत कविता, गीत, नृत्य, कला प्रदर्शनी, तेक्वान्दो प्रदर्शन, चिनियाँ गीत तथा सिकाइ यात्रासम्बन्धी प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूले अभिभावक र अतिथिहरूलाई निकै प्रभावित बनाएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालयका सीईओ डा. विनोद यादव ले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले विद्यालय बालकेन्द्रित, मूल्यआधारित र अन्तर्राष्ट्रिय स्तरको शिक्षामा निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
समग्रमा, उक्त क्लास डे प्रोग्राम ले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता र प्रस्तुति क्षमतालाई उजागर गर्नुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूको धारणा रहेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend