काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर २९ को आयोजनामा प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता माघ १६ र १७ गते सञ्चालन हुने भएको छ।
वडा अध्यक्ष कुश ढकालले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगितामा कुल ३३ जना खेलाडीलाई ३ लाख २८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा नेपालका शीर्ष खेलाडीहरूसँगै विदेशी खेलाडीको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष ढकालका अनुसार खेलकुदमार्फत बौद्धिक विकास र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यसअघि वडा नम्बर २२ ले आयोजना गरेको महानगरपालिका स्तरीय अन्तर–वडा चेस प्रतियोगितामा सहभागिता जनाएको अनुभवका आधारमा यस पटक खुला चेस प्रतियोगिता आयोजना गरिएको उनले बताए।
कार्यक्रम संयोजक तथा वडा सदस्य सन्तोष ढुंगेलका अनुसार प्रतियोगितामा
प्रथमले ३५ हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र चौथोले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। पाँचौँदेखि सातौँ स्थानसम्म जनही १७ हजार, आठौँदेखि दशौँ स्थानसम्म जनही १५ हजार तथा एघारौँदेखि पन्ध्रौँ स्थानसम्म जनही ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यस्तै, महिला, बेस्ट अनरेटेड, बेस्ट भेटरान, विभिन्न उमेर समूह तथा रेटिङ आधारमा उत्कृष्ट खेलाडीलाई समेत विशेष नगद पुरस्कारको व्यवस्था गरिएको छ।
दिल्ली बजारस्थित वडा नम्बर २९ को आफ्नै भवनमा सञ्चालन हुने प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेत रहेका छन्। फिडे निर्णायक एफए सोराज ताम्राकारको प्रमुख निर्णायकत्वमा प्रतियोगिता स्विस लिग प्रणालीअनुसार ९ चरण, १० मिनेट + १० सेकेन्ड इन्क्रिमेन्टमा खेलाइनेछ।
प्रतियोगिताको व्यवस्थापन थापाथली चेस पार्क क्लबले गर्नेछ भने बुद्धिचाल डट कम मिडिया पार्टनर रहनेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend