भक्तपुर, १७ पुस। सहकारीको सातौँ सिद्धान्त “समुदायप्रति चासो” लाई आत्मसात गर्दै सिद्धि गणेश सहकारी संस्थाले खुला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीलाई लक्षित प्रतियोगिता पुस १८ र १९ गते दुई दिन सञ्चालन हुनेछ। प्रतियोगितामा १८ जना विजयी खेलाडीले कुल ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका संयोजक विष्णुराम डुमरुका अनुसार प्रथम हुने खेलाडीले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ।
यस्तै, उत्कृष्ट महिला, सिनियर, नव–प्रवेशी, उत्कृष्ट स्थानीय, १९००, १८०० र १७०० रेटिङ मुनिका, तथा १६ वर्षमुनिका युवा खेलाडीका लागि पनि विधागत पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय निर्णायक (IA) ज्ञानेन्द्र खाइजुका अनुसार प्रतियोगिता स्विस लिग प्रणालीअन्तर्गत ९ चरणमा, १० मिनेट + १० सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा खेलाइनेछ। टाइब्रेकमा डाइरेक्ट इन्काउन्टर र बुछोल्ज कट–१ प्रणाली लागू हुनेछ।
भक्तपुर–७, खन्चस्थित सिद्धि गणेश सहकारीको ट्रेनिङ सभा हलमा आयोजना हुने प्रतियोगितामा पहिलो दिन ४ चरण र दोस्रो दिन ५ चरणका खेलपछि पुरस्कार वितरण समारोह सम्पन्न गरिनेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend