काठमाडौं। नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्राण्ड मास्टर (सुपर जीएम) भोलोदार मुर्जिनसँग एक कार्यक्रमबीच अनौपचारिक भेटघाट सम्पन्न गरेको छ।
नेपाल बुद्धिचाल महासंघका प्रत्यासी अध्यक्ष प्रविण भँडेलको नेतृत्वमा आयोजित उक्त भेटघाट कार्यक्रममा उपमहासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, स्वतन्त्र चेस क्लबका महेन्द्रलाल महर्जन तथा हिमालयन चेस एकेडेमीका यासिर खम्बूले पूर्व विश्व विजेतालाई स्वागत गरेका थिए।
पूर्व विश्व रापिड च्याम्पियन मुर्जिन गत साता कतारमा सम्पन्न विश्व रापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाल आएका हुन्। उनीसँगै वर्ल्ड चेस फेडेरेसन (FIDE) ट्रेनर्स कमिसनका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय सिनियर ट्रेनर ग्राण्ड मास्टर मिखाइल कोबालियाको समेत नेपाल आगमन भएको छ।
भेटघाट कार्यक्रमअघि ग्राण्ड मास्टरद्वयले पभेलियन्स चेस एकेडेमीद्वारा आयोजित ऐतिहासिक लस्कर (Simultaneous) चेस खेलमा सहभागिता जनाउँदै नेपाली खेलाडीहरूका जिज्ञासालाई सम्बोधन गरेका थिए। उक्त अवसरमा पूर्व विश्व चेस च्याम्पियन मुर्जिनले ३० जना नेपाली युवा खेलाडीसँग एकैसाथ लस्कर खेल खेल्दै सबै खेलमा विजय हासिल गरेका थिए।
अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा नेपाल भ्रमणमा रहेका विश्व रापिड च्याम्पियनको उपस्थितिलाई सदुपयोग गर्दै पभेलियन चेस एकेडेमीले उक्त लस्कर खेल आयोजना गरेको हो। कार्यक्रममा मुर्जिनले नेपाली खेलाडीहरूसँग प्रत्यक्ष रूपमा खेल्दै आफ्नो विश्वस्तरीय कौशल प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी, प्रशिक्षक तथा चेसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रमका क्रममा ग्राण्ड मास्टर मुर्जिनले प्रशिक्षण पद्धति, प्रतिस्पर्धात्मक सोच तथा अन्तर्राष्ट्रिय चेसको अभ्यासबारे महत्त्वपूर्ण सुझावहरू दिँदै नेपाली खेलाडीहरूको उज्ज्वल भविष्यप्रति आशा व्यक्त गरेका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend