काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले राज्य सञ्चालनमा जरा गाडेको दलीयकरण र भागबन्डाको संस्कृतिको अन्त्य गर्दै आम नागरिकले अनुभूति गर्ने खालको परिवर्तन आवश्यक रहेको बताएका छन्।
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत आफ्ना छुट्टाछुट्टै राजनीतिक प्रतिवेदनमार्फत उनीहरूले पार्टी सुधारसँगै देशको शासन प्रणालीमा समेत गुणात्मक परिवर्तन अपरिहार्य भएको धारणा राखेका हुन्।
महामन्त्री थापाले देशको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्ताव कार्यान्वयनका लागि पार्टी विधान संशोधन आवश्यक हुने उल्लेख गर्दै उनले अब कांग्रेसबाट कुनै पनि व्यक्ति तेस्रो पटक प्रधानमन्त्री नहुने स्पष्ट सन्देश दिएका छन्।
थापाले विश्वभर बढ्दै गएको पपुलिजम र अराजकतावादी प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने खतरा औँल्याउँदै लोकतन्त्र चमत्कारबाट होइन, विधि, प्रक्रिया र संस्थागत अभ्यासबाट सुदृढ हुने बताए। साथै, जेन–जी पुस्तामा देखिएको असन्तुष्टि केवल आक्रोश नभई आर्थिक विकास, सुशासन र जवाफदेहिताको स्पष्ट माग भएको उल्लेख गर्दै पार्टीको नीति, नेतृत्व र संरचनामा आमूल सुधार आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको विधान, कार्यशैली र कार्यक्रमलाई समयको मागअनुसार परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले पार्टीलाई पुनर्निर्माण र पुनःब्रान्डिङको दिशामा लैजान आवश्यक रहेको बताउँदै संगठनलाई अझ समावेशी, युवा–मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधनमा जोड दिएका छन्।
शर्माको प्रतिवेदनमा केन्द्रीय समितिदेखि वडा तहसम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने, विदेशमा रहेका नेपालीसँग समन्वयका लागि अन्तर्राष्ट्रिय जनसम्पर्क संरचना विकास गर्ने, बौद्धिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिलाई पार्टीमा भित्र्याउन ‘ल्याट्रल इन्ट्री’ व्यवस्था लागू गर्ने र संगठन सुदृढीकरणका लागि १० बुँदे सुधार योजना समेटिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend