बुटवल । चारपटकको उपाधि विजेता नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ ।
बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको मंगलबारको खेलमा पाँचौ पटक उपाधि दावी गर्दै आएको नेपाल पुलिसको १ गोल विरुद्ध मनाङ मस्र्याङ्दीले २ गोल गरेपछि पुलिस सेमिफाइनलमै पुग्न सकेन ।
अहिलेसम्म उपाधि उचाल्न नपाएको मनाङ मस्र्याङ्दीले सेमिफाइनलको यात्रा तय गरेको छ । खेल अवधीभर फ्रि किकको लागि पाएका आधा दर्जन भन्दाबढी अवसरलाई सदुपयोग गर्न सकेन भने सूरुदेखि नै पुलिसलाई दवावमा राखेको मनाङ मस्र्याङ्दीले पहिलो हाफको ३२ मिनेटमा गोल गर्दै आफ्नो पक्षमा खाता खोलेको थियो। मनाङका लागि पहिलो गोल प्रशन्न श्रेष्ठले गरेका थिए ।
पहिलो हाफको अतिरिक्त समयको दुई मिनेटमा चेतन थारुले गोल गर्दै खेललाई दुई शून्यमा पुर्याएका थिए। थारुले रिवाउन्ड सटमा हानेको बलले जाली चुमेपछि नेपाल पुलिस स्तब्ध बन्यो ।
पहिलो हाफ दुई शून्यमा सकिएकोमा दोश्रो हाफमा पुलिसले सान्त्वना एक गोल फर्कायो । दोश्रो हाफको १६ मिनेटमा पुलिसका बुद्ध बहादुर तामाङले १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बलले जाली चुमाएका थिए ।
मनाङ मस्र्याङ्दीले भने अहिलेसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको छैन। पहिलो चरणमा पुलिसलाई पराजित गरेको मनाङ मस्र्याङ्दीले सेमिफाइनलमा बिहीबार फ्रेन्ड्स क्लबको सामना गर्नुपर्ने छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend