ललितपुर: ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा वडा कप खुला र्यापिड रेटिङ बुद्धिचाल (चेस) प्रतियोगिता माघ २ र ३ गते आयोजना हुने भएको छ।
ललितपुर महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएका छन्। प्रतियोगिता विश्व बुद्धिचाल महासंघ (फिडे) को अन्तर्राष्ट्रिय चेस इभेन्ट कोड नं. ४६१२५० प्राप्त गरी नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन हुन लागेको हो।
अध्यक्ष महर्जनका अनुसार प्रतियोगितामा नेपालका शीर्ष १५० जना राष्ट्रिय स्तरका चेस खेलाडीहरूको सहभागिता सुनिश्चित भइसकेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३१ जना खेलाडीलाई कूल नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
वडा अध्यक्ष महर्जनले समाजलाई सही दिशातर्फ अग्रसर गराउन बौद्धिक खेल चेस प्रभावकारी माध्यम हुने उल्लेख गर्दै वडा कार्यालयले खेलकुद तथा बौद्धिक गतिविधिमा विशेष प्राथमिकता दिँदै आएको बताए।
प्रतियोगिताका एन्टिचिटिङ प्रमुख अन्तर्राष्ट्रिय आर्विटर (आईए) ज्ञानेन्द्र खाइजू ले अनुशासन उल्लंघनप्रति कुनै पनि प्रकारको लचकता नहुने स्पष्ट पार्दै फेयर प्ले नियम पूर्ण रूपमा लागू गरिने जानकारी दिए।
त्यसैगरी प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकार का अनुसार खेल १० मिनेट समयावधि तथा १० सेकेन्ड इन्क्रिमेन्ट प्रणालीमा सञ्चालन हुनेछ। विजेता निर्धारणका लागि डाइरेक्ट इन्काउन्टर, बुकोल्ज कट–वान, अप्सन एफ तथा सोनेवर्न–बर्जर प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगिताका संयोजक तथा वडा सदस्य बिरेन्द्र ताम्राकार ले प्रतियोगिता ललितपुरस्थित रातो मच्छिन्द्रनाथ मन्दिर परिसरको मच्छिन्द्र बहालमा आयोजना हुने जानकारी दिए। उनका अनुसार पहिलो दिन ५ चरण र दोस्रो दिन ४ चरण गरी कुल ९ चरणका खेल सम्पन्न भएपछि पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend