logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस एकता प्रयास असफल, अब निर्वाचनमार्फत इतिहास जोगाउने जिम्मेवारी : डा. शेखर कोइराला

कांग्रेस एकता प्रयास असफल, अब निर्वाचनमार्फत इतिहास जोगाउने जिम्मेवारी : डा. शेखर कोइराला


हाम्रो राष्ट्र
  • बिहिबार, २ माघ २०८२
  • 2.1K
    SHARES

    काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब आसन्न निर्वाचनमार्फत पार्टीको आठ दशक लामो गौरवपूर्ण इतिहास जोगाउने जिम्मेवारी सबैको काँधमा आएको बताएका छन्।

    डा. कोइरालाले सार्वजनिक अपिल जारी गर्दै कांग्रेस एकता असफल हुनुका दोषी–निर्दोष खोजेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन नचाहेको स्पष्ट पारे। “हामी सबै कतै न कतै चुकेका छौँ, यो स्वीकार गर्न मलाई कुनै संकोच छैन,” उनले उल्लेख गरेका छन्।

    पार्टीभित्र र बाहिर घटेका विभिन्न घटनाको साक्षी रहेको उल्लेख गर्दै डा. कोइरालाले यस घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहासमा सुम्पिएको बताए। राजधानी केन्द्रित देखिएका र नदेखिएका अन्तरविरोध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रको जालो र कांग्रेसलाई कमजोर पार्न चाहने स्वार्थलाई रोक्न नसकिएको उनको भनाइ छ।

    उनले सबैको इमान्दार प्रयास हुँदाहुँदै पनि कांग्रेस एक भएर निर्वाचनमा जान नसक्नु दुर्भाग्यपूर्ण रहेको जनाउँदै यस कठिन घडीमा पार्टीका महामानव नेता बीपी कोइराला लाई स्मरण गर्नुपर्ने बताए। बीपी कोइरालाले जीउ–ज्यानको बाजी लगाएर लोकतन्त्रका लागि संघर्ष गर्ने लाखौँ कार्यकर्ताको उदाहरण दिँदै केही व्यक्तिहरू अलग हुनु नियतिको खेल भएको धारणा राखेको स्मरण पनि उनले गराएका छन्।

    “बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो। आज कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु पनि त्यही नियतिको कठोर सत्य हो,” डा. कोइरालाले उल्लेख गरेका छन्।

    उनले अब कांग्रेस सामु आसन्न निर्वाचनमा होमिने र पार्टीको गौरवपूर्ण इतिहास जोगाउने मुख्य जिम्मेवारी रहेको बताउँदै संगठनात्मक ऊर्जा प्रस्फुटन गरेर मात्र इतिहास र अग्रज नेताहरूले दिएको दायित्व पूरा गर्न सकिने धारणा व्यक्त गरे।

    यसका लागि सम्पूर्ण कांग्रेसजनबीच एकता अपरिहार्य भएको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको, साझा इतिहास, साझा नेता र शहीदहरू सबैका प्रेरणाका स्रोत भएको बताए। “हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपर्छ,” उनले भने।

    नेपाली जनताले विगतमा पार्टी विभाजन हुँदाहुँदै पनि कांग्रेसप्रतिको भरोसा कायम राखेको स्मरण गराउँदै उनले फेरि एकपटक अग्रज नेताहरूको मार्गदर्शन र शहीदहरूको बलिदान सम्झेर जनताको घर–घरमा पुगेर मत माग्नुपर्ने समय आएको बताए।

    “समय छोटो छ, तर सकेसम्म तपाईंहरूको घरआँगनमा कांग्रेसको चुनावी अभियान लिएर म स्वयं आउने प्रयास गर्नेछु,” उनले प्रतिबद्धता जनाएका छन्।

    पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने उल्लेख गर्दै डा. कोइरालाले सबैलाई कांग्रेसमा फर्कन आह्वान गरे। “यहाँ जीत–हार कसैको होइन, सबैका लागि विन–विन अवस्थामा हामी अघि बढ्न सक्छौँ,” भन्दै उनले अपिलको अन्त्य ‘जय नेपाल’ नारासहित गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend