काठमाडौँ : निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस गरिएका विवरण, प्रमाण र कागजात अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आयोगमा अद्यावधिक गर्ने निर्णय गरिएको हो।
आयोगका तीन पदाधिकारीमध्ये कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशमशेर राणाले पक्षमा तथा निर्वाचन आयुक्त जानकी तुलाधरले विपक्षमा मत दिएकी थिइन्। बहुमतका आधारमा निर्णय भएको आयोग स्रोतले जनाएको छ।
सभापति थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले बिहीबार दिउँसो आयोगमा पुगेर आधिकारिकता दाबी गर्दै आवश्यक कागजात बुझाएको थियो। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका नेताहरूले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति नै आधिकारिक रहेको दाबी गर्दै आयोगमा आपत्ति दर्ता गराएका थिए।
विशेष महाधिवेशन पक्षधरले भने पार्टी विधान र नियमावलीअनुसार प्रक्रिया पूरा भएको जनाउँदै महाधिवेशनमा कुल ४,६३५ प्रतिनिधिमध्ये २,६५२ जना सहभागी भएको बताएका छन्। एक पटक वैधानिक रूपमा सम्पन्न भइसकेको विशेष महाधिवेशनका निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले असर नपार्ने उनीहरूको दाबी छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend