logo

२०८३ साउन १५ शुक्रबार

गगन थापाको एकताबद्ध हुन अपील: कांग्रेसमा विधि र विधान स्थापित

गगन थापाको एकताबद्ध हुन अपील: कांग्रेसमा विधि र विधान स्थापित


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ माघ २०८२
  • 2.1K
    SHARES

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको दाबी गर्दै सबै नेता–कार्यकर्ता र शुभेच्छुकलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन्।

    निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि जारी गरिएको प्रेस विज्ञप्तिमा सभापति थापाले आयोगको निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार भएको उल्लेख गर्दै आभार व्यक्त गरेका छन्। उनले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको स्पष्ट पारेका छन्।

    थापाले यो निर्णयलाई पार्टीभित्र सार्थक परिवर्तन र देशको समुन्नतिका लागि सदस्य तथा शुभेच्छुकहरूले गरेको इमानदार प्रयत्नको साझा उपलब्धि भएको बताएका छन्। पार्टी कुनै एक नेताको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने सन्देश स्थापित भएको उनको भनाइ छ।

    विशेष महाधिवेशनमा सहभागी र असहभागी, सहमत र असहमत सबैलाई संयमित, जिम्मेवार र एकताबद्ध हुन आग्रह गर्दै थापाले यसलाई जय–पराजयको विषयका रूपमा नलिन अनुरोध गरेका छन्। अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढेको र रिफर्मको यात्रा सुरु भइसकेको पनि उनले बताएका छन्।

    उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासहित विभिन्न तहका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्दै साथ दिने विश्वास व्यक्त गरेका छन्। साथै, आजबाट कांग्रेसमा कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने दाबी पनि गरेका छन्।

    सभापति थापाले नेपाली कांग्रेस आम नेपाली जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै मूल्य, सिद्धान्त र आदर्शबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अब कांग्रेसले सत्ताका लागि अप्राकृतिक

    गठबन्धन नगर्ने र संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताए।

    विज्ञप्तिको अन्त्यमा थापाले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रज, नवयुवा तथा आम नेपाली जनतालाई समुन्नत नेपाल निर्माणको यात्रामा साथ दिन पुनः आग्रह गरेका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend