logo

२०८३ साउन १४ बिहिबार

काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न

काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, ८ माघ २०८२
  • 1.3K
    SHARES

    काठमाडौं – नेपालस्थित बंगलादेश दूतावास र बंगलादेश प्राइभेट मेडिकल कलेज एसोसिएसन (BPMCA) को संयुक्त आयोजनामा “बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त मेला शनिबार, १५ फेब्रुअरी २०२६ (माघ ३, २०८२) मा नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना गरिएको थियो।

    शैक्षिक मेलामा बंगलादेशका २० भन्दा बढी प्रतिष्ठित निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मेलामा सहभागी नेपाली विद्यार्थी तथा अभिभावकहरूले कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी भर्ना प्रक्रिया, योग्यता मापदण्ड, शैक्षिक कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति, आवास सुविधा तथा बंगलादेशमा विद्यार्थी जीवनसम्बन्धी विस्तृत जानकारी प्राप्त गरेका थिए।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले नेपाल–बंगलादेशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र विशेषगरी चिकित्सा शिक्षाको क्षेत्रमा बढ्दो सहकार्यबारे चर्चा गरे। उनले गुणस्तरीय शिक्षा, आधुनिक मेडिकल पूर्वाधार, व्यापक क्लिनिकल अभ्यास, किफायती शुल्क तथा अन्तर्राष्ट्रिय रूपमा मान्य डिग्रीका कारण बंगलादेश अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विश्वासिलो गन्तव्य बन्दै गएको उल्लेख गरे।

    राजदूत रहमानले बंगलादेशको मेडिकल पाठ्यक्रम र परीक्षा प्रणाली क्यानाडियन मोडलमा आधारित रहेको र यो दक्षिण एसियाका अन्य प्रणालीभन्दा उत्कृष्ट रहेको दाबी गरे। साथै भाषा र सामाजिक परिवेशमा समानता भएकाले नेपाली विद्यार्थीहरू बंगलादेशमा सहज रूपमा घुलमिल हुन सक्ने बताए।

    उनले बंगलादेशबाट अध्ययन पूरा गरेका थुप्रै नेपाली चिकित्सकहरूले हाल नेपालकै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै बंगलादेशको स्नातकोत्तर मेडिकल शिक्षाको गुणस्तर विश्वभर प्रशंसित रहेको बताए। साथै, दूतावासले आगामी दिनमा पनि दुवै देशबीच शैक्षिक सहकार्य र जनस्तरीय सम्बन्ध मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।

    कार्यक्रममा BPMCA का महासचिवले बंगलादेशको मेडिकल शिक्षा प्रणाली, शैक्षिक मापदण्ड, पाठ्यक्रम संरचना, क्लिनिकल तालिम तथा विद्यार्थी सहायता सेवाबारे विस्तृत प्रस्तुति दिएका थिए। त्यस्तै, संघका पूर्व अध्यक्षले पनि मन्तव्य दिँदै शैक्षिक गुणस्तर कायम राख्न तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न संघले खेल्दै आएको भूमिकाबारे प्रकाश पारे।

    शैक्षिक मेलामा ५०० भन्दा बढी नेपाली विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। मेलालाई विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरूले समयानुकूल तथा अत्यन्त उपयोगी पहलका रूपमा स्वागत गरेका छन्।

    मेलाको अवसरमा BPMCA प्रतिनिधिमण्डलले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा नेपाल मेडिकल काउन्सिल (NMC) का कार्यवाहक अध्यक्ष डा. विकास देवकोटासँग शिष्टाचार भेट समेत गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend