logo

२०८३ साउन १३ बुधबार

सरस्वती पूजा श्रद्धा र उत्साहका साथ सम्पन्न

सरस्वती पूजा श्रद्धा र उत्साहका साथ सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, ११ माघ २०८२
  • 3.4K
    SHARES

    काठमाडौं :  सरस्वती पूजाको अवसरमा साहित्यकार तथा शिक्षाविद् डा. रामप्रसाद दाहालले ज्ञानको प्रकाश फैलाउने तथा मानवलाई विद्वान बनाउने माता सरस्वतीको महिमा हिन्दू संस्कृतिमा अत्यन्त उच्च रहेको उल्लेख गर्नुभयो। उहाँले आज देशभरका सरस्वती मन्दिर, कलेज तथा विद्यालयहरूमा विधिवत् सरस्वती पूजा, अर्चना र आराधना भइरहेको बताउनुभयो।

    डा. दाहालले माता महासरस्वतीको वर्णन गर्दै उहाँले सबैमा बुद्धि, विवेक र ज्ञान प्रदान गरून् भनी आराधना गरिने परम्परा रहेको बताउनुभयो। श्वेतवर्णकी, वीणा र पुस्तक धारण गर्ने, अज्ञानरूपी अन्धकार नाश गर्ने विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी महासरस्वतीको विशेष पूजा यस दिन गरिने धार्मिक मान्यता रहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा प्रा. मुकुन्दराज दाहालले सरस्वती वन्दना पाठसहित पूजा अर्चना गर्नुभयो। मोडर्न कन्या कलेजले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आयोजना गरी विद्या की देवी सरस्वतीको स्मरण गर्नु सकारात्मक अभ्यास भएको वक्ताहरूले बताएका थिए।

    कार्यक्रममा पत्रकार कल्पना शर्मा, समाजसेवी शुनिता केसी, हरिकृष्ण दाहाल, दीपिका शाह, कलेजका प्रिन्सिपल सबिन पोख्रेल, विद्यालय संयोजक शक्ति दाहाल, गुरु पोख्रेल, विद्यार्थी प्रतिनिधि शर्मिला कार्की, कल्पना कटुवाललगायतले सरस्वतीको महिमाबारे धारणा राखेका थिए।

    बसन्त पञ्चमीका अवसरमा आयोजित कार्यक्रममा आजैबाट ऋतुराज बसन्त ऋतुको आगमन भएको उल्लेख गर्दै यस दिनको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको वक्ताहरूले बताएका थिए। पूजा सम्पन्न पश्चात् प्रसाद वितरण गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend