काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा गरिएको जनमत सर्वेक्षणले मतदाताहरूले उम्मेदवारको व्यक्तित्व, स्वच्छ राजनीतिक अभ्यास, जनतासँगको पहुँच र नयाँ सोचलाई प्रमुख आधारका रूपमा लिने गरेको देखाएको छ। सर्वेक्षणका विभिन्न प्रश्नमा प्राप्त प्रतिक्रियाअनुसार मतदाताको रोजाइ अब परिणाममुखी र उत्तरदायी नेतृत्वतर्फ केन्द्रित हुँदै गएको संकेत मिलेको छ।
मतदान गर्दा निर्णयमा सबैभन्दा ठूलो प्रभाव उम्मेदवारको व्यक्तित्व र पार्टीको नीति–विचारले पार्ने उल्लेखनीय मत देखिएको छ। साथै, विगतको काम र वर्तमान आवश्यकतालाई पनि मतदाताले महत्वपूर्ण आधारका रूपमा लिएका छन्।
त्यस्तै, उम्मेदवार स्थानीय बासिन्दा हुनु कत्तिको महत्वपूर्ण छ भन्ने प्रश्नमा अधिकांश सहभागीले “धेरै महत्वपूर्ण” रहेको बताएका छन्। यसले मतदाताले आफ्नो क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको र स्थानीय समस्याबारे जानकार प्रतिनिधि चाहेको स्पष्ट पारेको छ।
क्षेत्रका प्रमुख समस्याबारे सोधिएको प्रश्नमा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी तथा आर्थिक अवसर, र पूर्वाधार तथा सार्वजनिक सेवाका विषयहरू उच्च प्राथमिकतामा परेको देखिन्छ। यसैगरी, प्रतिनिधिसभा सदस्यबाट इमानदार र स्वच्छ राजनीति, संसदमा प्रभावकारी आवाज तथा जनतासँग नियमित सम्पर्कको अपेक्षा गरिएको छ।

उम्मेदवार चयनका आधारहरूमा नयाँ सोच र ऊर्जा, सामाजिक/समुदायसँगको सम्बन्ध, शिक्षा र क्षमता तथा अनुभवलाई मतदाताले महत्व दिएको सर्वेक्षणले देखाएको छ। नयाँ नेतृत्वले पुराना संरचनामा फरक सोच ल्याउन सक्छ भन्नेमा पनि बहुमत सहभागी विश्वस्त देखिएका छन्।
सर्वेक्षणको निष्कर्षले काठमाडौं–१ का मतदाता अब नारा भन्दा काम, पहुँच र पारदर्शितालाई आधार मानेर निर्णय गर्ने दिशातर्फ उन्मुख रहेको संकेत गरेको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend