नेपालस्थित पाकिस्तान दूतावासले ५ फेब्रुअरी २०२६ मा कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा “दक्षिण एशियामा क्षेत्रीय शान्ति र स्थायित्व: कश्मीर समस्याको समाधान अनिवार्य” विषयमा विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा पत्रकार, लेखक, कश्मीरका मित्रहरू तथा मानव अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका सन्देशहरू वाचन गरिएको थियो।
राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावअनुसार कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तानको अडिग समर्थन पुनः पुष्टि गरे। उनले कश्मीर विवादको न्यायोचित र शान्तिपूर्ण समाधान बिना दक्षिण एशियामा दिगो शान्ति सम्भव नहुने उल्लेख गर्दै निष्पक्ष जनमतसंग्रह सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।
प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफले कश्मीरी जनताको संघर्षप्रति पाकिस्तानको नैतिक, कूटनीतिक तथा राजनीतिक समर्थन दोहोर्याए। उनले भारतले ५ अगस्ट २०१९ मा गरेका अवैध र एकपक्षीय कदमले अवैध नियन्त्रणमा रहेको जम्मु–कश्मीरको राजनीतिक तथा मानव अधिकार अवस्था झनै जटिल बनाएको बताए।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सेनेटर मोहम्मद इशाक डारले अवैध नियन्त्रणमा रहेका क्षेत्रमा भइरहेका व्यापक मानव अधिकार उल्लङ्घन, मनपरी गिरफ्तारी तथा राजनीतिक र सञ्चार स्वतन्त्रताको दमनप्रति गम्भीर ध्यानाकर्षण गराए। उनले कश्मीरसम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावहरू कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अब्रार एच हाश्मीले कश्मीर समस्याको समाधान बिना दक्षिण एशियामा शान्ति र स्थायित्व सम्भव नहुने स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रका प्रस्तावहरूले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि स्पष्ट आधार प्रदान गरेको उल्लेख गर्दै भारतद्वारा गरिएका एकपक्षीय कानुनी व्यवस्थाहरू अस्वीकार्य रहेको बताए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन तथा क्षेत्रीय शान्तिका लागि सार्थक संवादलाई तीव्र बनाउन आग्रह गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend