ललितपुर: नरबहादुर कर्मचारी स्मृति र्यापिड रेटिङ १९ सय मुनिको चेस प्रतियोगितामा ललितपुरका सोम आले पहिलो दिन सम्पन्न चार चरणका सबै खेल जित्दै उपाधि होडमा अगाडि देखिएका छन्।
वामपन्थी नेता स्वर्गीय नरबहादुर कर्मचारीको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासका लागि गठन भएको प्रतिष्ठानद्वारा आयोजित दुई दिने प्रतियोगितामा १८१८ रेटेड सोम आलेले क्रमशः सुनभ ओझा, मिसन पराजुली, सजल न्यौपाने र बिजेश राजकर्णिकारलाई पराजित गर्दै शतप्रतिशत जित दर्ता गरेका हुन्।
ललितपुर महानगरपालिका वडा नं. ११ स्थित आल्को हिटीमा जारी प्रतिस्पर्धामा १८९७ रेटेड मिसन दाहाल, १९५६ रेटेड हेमराज भण्डारी, भारतका १८११ रेटेड शुभम कुमार, अनरेटेड प्रशान्त गुरुङ र १८३० रेटेड दीपक महर्जनले समान ४ अंक जोड्दै संयुक्त अग्रता बनाएका छन्।
फिडे कोड ४६१९७८ अन्तर्गत सञ्चालन भइरहेको प्रतियोगितामा १५७ जना खेलाडी सहभागी छन्। तीमध्ये विराटनगरका १८९८ रेटेड ज्वाला इम्बुङ, मकवानपुरका १८१० रेटेड फुर्वालामा, दोलखाका १८६९ रेटेड राजीव कार्की, भक्तपुरका १८०१ रेटेड हर्कबहादुर चोङ्बाङ र काठमाडौँका १८१८ रेटेड सुरज सिंह ३.५ अंकसहित संयुक्त दोस्रो स्थानमा रहेका छन्।
नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा भइरहेको प्रतियोगिताका विजेताले कुल नगद पुरस्कार रु १ लाख ७१ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले रु २५ हजार, द्वितीयले १० हजार, तृतीयले ८ हजार र चौथोले ७ हजार पुरस्कार पाउनेछन्। पाँचौं देखि दशौं स्थानसम्मका खेलाडीले समान रु ६ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
यसैगरी उत्कृष्ट महिला शीर्ष तीन, स्थानीय शीर्ष तीन, नवप्रवेशी शीर्ष तीन, ५५ र ६० वर्षमाथिका सिनियर खेलाडी, १६, १७ र १८ सय रेटिङ समूह, तथा ८, १०, १२, १४ र १६ वर्ष उमेर समूहका उत्कृष्ट युवा छात्र–छात्रा गरी ३४ जना खेलाडी विधागत रूपमा पुरस्कृत हुनेछन्।
खेलपूर्व संयोजक सानुराज बज्राचार्यको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा नेतृ पम्फा भुसाल र वडा नं. ११ का अध्यक्ष अरोजकुमार खड्गीले संयुक्त रूपमा चेस गोटी चालेर प्रतियोगिताको शुभारम्भ गरेका थिए।
कार्यक्रममा बोल्दै नेतृ भुसालले बौद्धिक खेल बुद्धिचालसँग वामपन्थी नेताको नाम जोडेर प्रतियोगिता आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरिन्। वडा अध्यक्ष खड्गीले ३० वर्षपछि वडामा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता आयोजना भएको जानकारी दिँदै विगतमा कुम्भेश्वर क्षेत्रमा यस्ता प्रतियोगिता पटक–पटक सञ्चालन भएको स्मरण गरे।
कार्यक्रममा पूर्व जिल्ला विकास समितिका अध्यक्ष माधव पौडेल, महासङ्घका प्रवक्ता राजु ताम्राकार, अन्तर्राष्ट्रिय रेफ्री ज्ञानेन्द्र खाइजु, फिडे आर्बिटर सोराज ताम्राकारलगायतको उपस्थिति रहेको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend