logo

२०८३ साउन १४ बिहिबार

पैसाको ब्रिफकेस बोकेर मतदाता किन्न हिँड्नेहरूको भण्डाफोर गर्न शिवाकोटीको आह्वान

पैसाको ब्रिफकेस बोकेर मतदाता किन्न हिँड्नेहरूको भण्डाफोर गर्न शिवाकोटीको आह्वान


हाम्रो राष्ट्र
  • आइतबार, २६ माघ २०८२
  • 2K
    SHARES

    दोलखा : आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्ना प्रतिस्पर्धीहरू पैसाको ब्रिफकेस बोकेर मतदाता खरिद गर्न सक्रिय रहेको आरोप लगाएका छन्। आइतबार तामाकोशी–४ मालुस्थित गोलमेश्वर मन्दिर प्राङ्गणमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    शिवाकोटीले निर्वाचनका बेला अस्वस्थ गतिविधि बढिरहेको दाबी गर्दै भने, “निर्वाचनको दौरानमा कालो ब्रिफकेस बोकेर हाम्रा साथीहरूलाई तौलन हिँडिरहेको सूचना आएको छ। काठमाडौँका बन्द कोठा र होटलहरूमा आर्थिक चलखेल भइरहेको खबर प्राप्त भएको छ। यस्ता गतिविधि जहाँ देख्नुहुन्छ, त्यहाँ भण्डाफोर गर्नुस्।”

    उनले मत खरिद–बिक्रीको वस्तु नभएको उल्लेख गर्दै यदि कसैले जबर्जस्ती पैसा दिएमा पनि विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरे।

    लामो समय जनप्रतिनिधि भएर पनि काम नगर्ने र चुनावका बेला पैसाको भरमा मतदातालाई प्रभावित पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए। “हामीलाई संसद्मा गएर ‘हाई’ गरेर बस्ने वा तलब–भत्तामै केन्द्रित हुने प्रतिनिधि होइन, जनताको कामका लागि अड्डा–अदालत र मन्त्रालय धाउने प्रतिनिधि चाहिएको छ,” उनले भने।

    जिल्लाको स्रोत–साधन दुरुपयोग गर्ने प्रवृत्तिबाट दोलखालाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले गोलमेश्वर महादेवलाई साक्षी राखेर आफू भ्रष्टाचारजन्य गतिविधिमा नफस्ने प्रतिबद्धता व्यक्त गरे।

    “म कुनै पनि अनियमिततामा संलग्न हुने छैन। जुन दिन त्यस्तो हुन्छ, त्यही दिन मेरो राजनीतिक जीवन समाप्त हुनेछ,” उनले भने।

    उनले कतिपय स्थानमा वर्तमान जनप्रतिनिधिबाटै कार्यकर्तामाथि दबाब र अप्ठ्यारो सिर्जना भएको गुनासो गर्दै त्यस्तो व्यवहार अस्वीकार्य हुने चेतावनीसमेत दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend