पोखरा : नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट आर्थिक सुधार, शिक्षित तथा स्वस्थ नागरिक निर्माणको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रानाभाट यसअघि लगातार तीन पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन्।
वि.सं. २०२४ साल पुस २ गते कास्कीको मादी गाउँपालिका–३ मा जन्मिएका रानाभाटले कानून विषयमा स्नातक (बीएल) गरेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट अध्ययन पूरा गरेपछि उनले तीन वर्ष सर्वोच्च अदालतमा अधिकृतका रूपमा सरकारी सेवा गरेका थिए।
सरकारी सेवामा मन नजमेपछि उनले जागिर छाडेर व्यवसाय र राजनीतिमा सक्रियता बढाए। सरकारी संयन्त्रको कार्यप्रणाली नजिकबाट बुझ्ने अवसर त्यस अवधिले दिएको उनी बताउँछन्।
उनको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै सुरु भएको हो। पञ्चायतकालमै विद्यार्थी संगठन निर्माणमा सक्रिय रहेका रानाभाट पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए। १३ औँ महाधिवेशनपछि गठित केन्द्रीय अर्थ समितिको सदस्य तथा २०७१ सालमा नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा पनि उनले काम गरेका छन्।
राजनीतिसँगै वैदेशिक रोजगार व्यवसायमा पनि उनको लामो अनुभव छ। २०६३ साल माघमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन स्थापना गरी उनी संस्थापक अध्यक्ष बनेका थिए। त्यसपछि २०६५ सालमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्ष भई श्रमिक र व्यवसायीको हितमा काम गरेको उनी बताउँछन्। वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन निरन्तर पहल गर्दै आएको उनको दाबी छ।
रानाभाट गार्मेन्ट उद्योगमा समेत आबद्ध छन्। उनले सञ्चालन गरेका प्रतिष्ठानहरूमा ६० जनाभन्दा बढीले रोजगारी पाएका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए। २०७४ को आम निर्वाचनमा पनि उनको नाम चर्चामा आए पनि आरक्षणका कारण उम्मेदवारी त्यागेका थिए।
त्यसपछि केन्द्रीय निर्वाचन परिचालन समितिले उनलाई म्याग्दी जिल्लामा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको थियो, जहाँ उनले १९ दिनसम्म विभिन्न स्थानमा पुगेर सांगठनिक काम सम्पन्न गरेका थिए।
हाल रानाभाट कास्की–१ मा घरदैलो अभियानमार्फत आफ्नो पक्षमा जनमत जुटाउन सक्रिय छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend