logo

२०८३ साउन १३ बुधबार

तीन दशकको मौन समाजसेवाबाट संसद यात्रामा ‘मीना दिदी’

तीन दशकको मौन समाजसेवाबाट संसद यात्रामा ‘मीना दिदी’


हाम्रो राष्ट्र
  • सोमबार, २७ माघ २०८२
  • 1.5K
    SHARES

    चितवन : प्रेमिल व्यवहार, पीडाप्रति संवेदनशील हृदय र अन्यायविरुद्ध नडराउने आवाज — यी विशेषताले परिचित मीनाकुमारी खरेल तीन दशकभन्दा बढी समयदेखि चितवनमा समाजसेवामा सक्रिय छिन्। महिला, बालबालिका, सीमान्तकृत तथा आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको यात्रा अब प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत संसदसम्म पुग्ने मोडमा आइपुगेको छ।

    चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी उम्मेदवार बनेकी खरेल सेवामार्फत सिकेको अनुभवलाई नीति निर्माण तहमा पुर्‍याउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएकी हुन्। समाजसेवाका क्रममा उनी ‘नेता’ भन्दा पहिले ‘दिदी’ का रूपमा चिनिइन् — स्थानीय समुदायमा उनी “मीना दिदी” नामले परिचित छिन्।

    विद्यार्थी राजनीतिबाट जनप्रतिनिधिसम्म

    खरेलको राजनीतिक चेतना विद्यार्थी जीवनदेखि नै विकसित भएको हो। नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्षका रूपमा काम गर्दा उनी ०४२ सालपछिको विद्यार्थी आन्दोलनमा सक्रिय रहिन्। शैक्षिक शुल्क वृद्धि र अन्यायविरुद्ध आवाज उठाउने क्रममा भाषण गर्दा पक्राउसमेत परेकी थिइन्।

    त्यसपछि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमार्फत जिल्ला तहका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य बनिन्। ०५४ सालको स्थानीय निर्वाचनमा भरतपुर वडा नं. ५ बाट महिला वडा सदस्यमा निर्वाचित भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिन्। हाल उनी कांग्रेस चितवनको जिल्ला महासमिति सदस्य छिन्।

    संस्थागत समाजसेवाको यात्रा

    ०४९ सालमा आदर्श नारी विकास केन्द्रको संस्थापक सचिव बनेसँगै खरेलको औपचारिक समाजसेवा यात्रा सुरु भयो। महिला अधिकार, घरेलु हिंसा न्यूनीकरण र सामाजिक सशक्तीकरणका क्षेत्रमा उनले संस्थागत अभियान अघि बढाइन्।

    ०५२ सालमा महिला लघु ऋण परियोजनामार्फत ६ सयभन्दा बढी महिलालाई समूहमा आबद्ध गराई बचत र आयआर्जनमा जोडियो। त्यसैको निरन्तरतास्वरूप ०५५ सालमा आदर्श बचत तथा ऋण सहकारी स्थापना गरियो, जुन अहिले महिलाकै नेतृत्वमा सञ्चालनमा छ।

    ०६१ सालमा महिला स्वास्थ्य, क्षयरोग नियन्त्रण र प्रजनन स्वास्थ्य सेवामा केन्द्रित आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरियो। साथै, सोही वर्ष ‘हाम्रो घर’ नामक सडक बालबालिका पुनर्स्थापना केन्द्र स्थापना गरी हालसम्म करिब ६० जना बालबालिकाको संरक्षण, शिक्षा र पुनर्मिलन गराइएको छ।

    ०६६ साल वैशाख १ गते घरेलु हिंसा, लैङ्गिक हिंसा र मानव बेचबिखन प्रभावितका लागि ‘आदर्श गृह’ स्थापना गरिएको थियो। उद्धार, परामर्श, कानुनी सहयोग, सीप विकास र पुनर्स्थापनामार्फत हालसम्म १,१८३ भन्दा बढी महिला तथा बालबालिकालाई सहयोग पुर्‍याइएको संस्थाले जनाएको छ।

    राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान

    महिला तथा बालबालिकाको अधिकार र संरक्षणमा योगदान पुर्‍याएबापत खरेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन्। कोरियाको अन्तर्राष्ट्रिय पिस अवार्ड, नेदरल्याण्ड्सको दिदी फाउन्डेसन अवार्ड, अस्ट्रेलियाको चितवन समाज भिक्टोरिया सम्मानसहित नेपाल सरकार र विभिन्न निकायबाट सम्मानित भइसकेकी छन्। मानव बेचबिखन नियन्त्रण र सामुदायिक मेलमिलाप अभियानमा उनको सक्रियता ६० भन्दा बढी जिल्लासम्म फैलिएको बताइन्छ।

    संसदमा पुगेर नीति स्तरमा काम गर्ने लक्ष्य

    उम्मेदवार खरेल भन्छिन्, “मैले समाजका पीडा नजिकबाट देखेकी छु। अब त्यो अनुभव संसदमा पुर्‍याएर नीति र कानुनमार्फत दीर्घकालीन समाधान खोज्न चाहन्छु।”

    उनका मुख्य एजेन्डामा महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्याय, मानव बेचबिखन नियन्त्रण, जनतामुखी विकास र सेवामूलक राज्य संरचना रहेका छन्।

    चितवन–२ मा उनको उम्मेदवारीलाई विश्लेषकहरूले सेवामुखी सामाजिक नेतृत्व र प्रचारमुखी राजनीतिक शैलीबीचको प्रतिस्पर्धाका रूपमा पनि व्याख्या गरेका छन्। खरेल भने तीन दशकको निरन्तर समाजसेवा नै आफ्नो सबैभन्दा ठूलो परिचय र आधार भएको बताउँछिन्।

    उनका लागि यो निर्वाचन पद प्राप्तिको दौड मात्र नभई समाजका पीडा र आवाज संसदसम्म पुर्‍याउने अर्को निर्णायक चरणका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend