काठमाडौं : काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी निर्वाचनका लागि उम्मेदवार चयनको अन्तिम घडीसम्म अन्योल रहँदा नेपाली कांग्रेसले रमेश अर्याललाई उम्मेदवारका रूपमा अघि सारेको छ। मनोनयन दर्ताको अघिल्लो दिनसम्म उम्मेदवार को हुने भन्ने टुंगो नलागेपछि विभिन्न नाम चर्चामा थिए। यही बीच पार्टी नेतृत्वको निर्णयसँगै अर्यालको नाम सार्वजनिक गरिएको हो।
पार्टीका शीर्ष नेताहरूबीच लामो छलफलपछि अर्याललाई क्षेत्रको नेतृत्वका लागि उपयुक्त पात्र ठहर गरिएको स्रोत बताउँछ। स्थानीय तहदेखि सामाजिक तथा विपद् व्यवस्थापनसम्म सक्रिय भूमिका निर्वाह गरेको अनुभव, जनतासँगको निरन्तर सम्पर्क र कार्यसम्पादन क्षमताका आधारमा उनलाई उम्मेदवार बनाइएको जनाइएको छ।
अर्याल यसअघि गोकर्णेश्वर नगरपालिकामा वडाध्यक्षका रूपमा निर्वाचित भई काम गरिसकेका छन्। स्थानीय निर्वाचनमा आफ्नो समूहका अन्य सदस्य पराजित हुँदा पनि उनी लोकप्रिय मतका साथ विजयी भएका थिए। सो अनुभवले उनको व्यक्तिगत जनाधार बलियो रहेको देखाएको विश्लेषण गरिन्छ।
स्थानीय तहमा रहँदा उनले विपद् व्यवस्थापन, शिक्षा सुधार र आधारभूत सेवा विस्तारमा सक्रिय पहल गरेका थिए। खगेन्द्र नवजीवन विद्यालयको भौतिक तथा शैक्षिक स्तर उकास्न भूमिका खेलेको, विद्यालयलाई अपाङ्गतामैत्री संरचनामा विकास गर्न सहयोग गरेको र विद्यार्थी संख्या उल्लेख्य बढाउन योगदान दिएको उल्लेख गरिन्छ।
खानेपानी समस्या समाधानलाई उनले आफ्नो मुख्य एजेन्डामध्ये एक बनाएका छन्। मेलम्ची प्रणालीसँगै परम्परागत मुहान संरक्षण, वर्षा पानी संकलन र वैकल्पिक स्रोतको वैज्ञानिक व्यवस्थापनमार्फत दीर्घकालीन समाधान खोज्ने योजना अघि सारेका छन्।
युवालाई रोजगारी र सीपसँग जोड्ने उद्देश्यले ‘सीप प्रमाणीकरण तथा रोजगार केन्द्र’ जस्ता कार्यक्रम सञ्चालनको अनुभवसमेत उनीसँग रहेको बताइन्छ। स्थानीय उद्योग–व्यवसायसँग सहकार्य गरेर सीपमूलक तालिम र स्वरोजगार प्रवर्द्धन गर्ने उनको योजना छ।
कोभिड–१९ महामारीका बेला खोप व्यवस्थापन तथा राहत वितरणमा सक्रिय समन्वय गरेको, प्रभावित नागरिकलाई खाद्य सहयोग उपलब्ध गराएको लगायतका कार्यले पनि उनलाई जनतामाझ परिचित बनाएको समर्थकहरूको दाबी छ।
अर्याललाई नतिजामुखी, समन्वयकारी र कार्यान्वयन क्षमतायुक्त उम्मेदवारका रूपमा प्रस्तुत गर्दै पार्टीले काठमाडौँ–३ मा जितको निरन्तरता खोजेको देखिन्छ। अब उनको एजेन्डा र कार्ययोजनालाई मतदाताले कसरी मूल्यांकन गर्छन् भन्ने विषय चुनावी परिणामले तय गर्नेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend