सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन–जीको विद्रोहका कारण अहिलेको चुनाव सम्भव भएको बताएका छन्। सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसको माहोलले कांग्रेसले चुनाव जित्ने संकेत गरिसकेको जिकिर गरे।
उनले भने, “मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो। यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाइदिनुहुन अनुरोध छ।”
थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै पनि हालतमा पछाडि फर्कन नमिल्ने बताए। उनले कांग्रेस चुनावका लागि तयारी अवस्थामा रहेको पनि उल्लेख गरे। “हामीले त चुनाव दुई वर्षपछि आउला भन्ने सोचेका थियौँ, तर जेन–जीहरूले विद्रोह गरिदिनुभयो र सुशासनको माग गर्न थाल्नुभयो,” उनले भने, “त्यसैले चुनाव चाँडै आयो। कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईंहरूकै हातमा छ। जिताउनुहुन्छ भन्ने आशा लिएको छु।”
सभापति थापाले आज मधेसका सप्तरीको हनुमाननगर, रुपनी, कदमचोक तथा सिराहाका लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए। यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर–२, झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend