logo

२०८३ साउन १३ बुधबार

काभ्रे–२ मा स्वतन्त्र उम्मेदवार उमेश थापाको नयाँ एजेण्डासहितको दाबी

काभ्रे–२ मा स्वतन्त्र उम्मेदवार उमेश थापाको नयाँ एजेण्डासहितको दाबी


हाम्रो राष्ट्र
  • बिहिबार, ३० माघ २०८२
  • 2.5K
    SHARES

    काभ्रेपलाञ्चोक — २०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन जेनजी आन्दोलनका कारण स्थगित भई आउँदो फागुन २१ गते तोकिएको छ। सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आ–आफ्नो चुनावी प्रचारप्रसार तीव्र पारेका छन्।

    अधिकांश उम्मेदवार पुरानै अनुहार र दोहोरिएका एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका बेला काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा भने स्वतन्त्र उम्मेदवार उमेश थापा फरक सोच र नयाँ एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन्। ३० वर्षीय युवा थापा पेशाले पत्रकार हुन्। नवीन सोच, कार्यक्षमता र स्पष्ट भिजनसहित राजनीति प्रवेश गरेका उनी ‘ठेकी’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छन्।

    देश र समाजका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेको बताउने थापा, कलममार्फत लामो समय जनताको आवाज उठाए पनि समस्याको प्रभावकारी समाधान नभएको अनुभूति भएपछि प्रत्यक्ष राजनीतिक भूमिकामा आएको बताउँछन्।
    “पत्रकारिता र राजनीति दुवै सेवा हुन्। पत्रकारले समस्या उठाउँछ, समाधान गर्ने जिम्मा सत्तामा बस्नेको हुन्छ। जनताको समस्या समाधान गर्न म पत्रकारिताबाट राजनीतिमा आएको हुँ,” उनले बताए।

    यस निर्वाचनमा दर्जनौँ पत्रकार पार्टीबाट उम्मेदवार बनेका छन्। आफू पनि पार्टीबाट उम्मेदवार बन्न सक्ने अवस्था हुँदाहुँदै स्वतन्त्र उम्मेदवारी दिएको प्रश्नमा थापा भन्छन्, “जनताले अब पार्टी होइन, काम गर्ने व्यक्ति खोजिरहेका छन्। त्यसैले स्वतन्त्र उम्मेदवार बनेर जनताको माझ आएको हुँ।”

    काभ्रे–२ बाट यसअघिका निर्वाचनमा दलका चर्चित उम्मेदवारहरू निर्वाचित हुँदै आए पनि मतदातामा निराशा बढेको थापाको दाबी छ।
    “जनताले पटक–पटक दललाई भोट दिए, तर अपेक्षित काम भएन। अहिले मतदाताको ध्यान पार्टीभन्दा उम्मेदवारको क्षमता र इमान्दारितामा केन्द्रित छ,” उनले भने।

    अन्य उम्मेदवारभन्दा फरक एजेण्डा के हो भन्ने प्रश्नमा थापाले सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँलाई प्राथमिकतामा राखेका छन्। “देशमा कुशासन र अनियमितता व्याप्त छ। मुलुकलाई इमान्दार नेतृत्व आवश्यक छ। सांसद भएँ भने सरकारले दिने तलब–भत्ता काभ्रे–२ का जनताको हकहितमा प्रयोग गर्नेछु,” उनले प्रतिबद्धता जनाए।
    साथै, रोजगारीको अभावले विदेशिनुपर्ने युवाको बाध्यतालाई अन्त्य गर्न, युवालाई भाषण होइन सीपसँग जोड्न आफू केन्द्रित रहने उनको भनाइ छ।

    चुनावी प्रचारप्रसारबारे बोल्दै थापाले ठूला खर्चिलो कार्यक्रमभन्दा मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको बताए। “पत्रकारिताबाट आएको मसँग ठूलो खर्च गर्ने स्रोत छैन। त्यसैले आफैं घरदैलोमा गएर मतदाताको समस्या र सुझाव सुनिरहेको छु। सामाजिक सञ्जाल र सञ्चारमाध्यम पनि प्रयोग गरिरहेको छु,” उनले भने।

    घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको थापाको भनाइ छ। “समस्या भन्दा पनि ‘युवालाई मौका दिनुपर्छ’ भन्ने सुझाव बढी पाइरहेको छु। यसले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले बताए।

    निर्वाचन जितेपछि सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने प्रश्नमा थापा स्पष्ट छन्। “म प्रतिपक्षमै बस्छु। प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनेछु, सरकारलाई जनताको समस्या देखाउनेछु। मलाई मन्त्री पदको कुनै लोभ छैन। जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु नै मेरो लागि ठूलो कुरा हो,” उनले भने।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend