logo

२०८३ साउन १३ बुधबार

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै रुपान्तरणमा – महामन्त्री गुरुराज घिमिरे

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै रुपान्तरणमा – महामन्त्री गुरुराज घिमिरे


हाम्रो राष्ट्र
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 2K
    SHARES

    काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अगाडि बढेको बताउनुभएको छ। विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्दै उहाँले कांग्रेस अब नयाँ रूपमा रुपान्तरण भइसकेको र नेता तथा नेतृत्व दुवै परिवर्तन भएको जानकारी दिनुभयो।

    महामन्त्री घिमिरेका अनुसार, “हामीले कांग्रेसमा अहिले नेता मात्र होइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ। युवा पुस्ताको आवाज र अपनत्व बोकेर पार्टीलाई नवीकरण गरेका छौँ।” उहाँले विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना र जनतासँग अझ नजिक भएर काम गर्ने अवसर दिएको बताउनुभयो।

    उहाँले थप्नुभयो कि कांग्रेसको गौरव अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी भएको छ, जसले निर्वाचनमा पनि सकारात्मक प्रभाव पार्नेछ। “कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ, यसले ठूला उपलब्धिहरू दिलाउनेछ र देश तथा जनता लाभान्वित हुनेछन्।”

    महामन्त्री घिमिरेले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र इतिहासमा परिवर्तनका लागि ठूलो कुर्बानी दिएको उल्लेख गर्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए। उहाँले जेन-जीका माग जायज भएकाले नै भदौ २३ र २४ गतेको उथलपुथल भएको र पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको बताए।

    “जेन-जी विद्रोहको उद्देश्य देशमा सुशासन कायम गर्नु, भ्रष्टाचार निर्मूल गर्नु र सामाजिक सञ्जाललाई स्वतन्त्र राख्नु नै थियो। यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढाएको छ,” महामन्त्री घिमिरेले भने।

    उहाँले सबै उम्मेदवारलाई जनतासँग सजीव सम्बन्ध राख्न, घरदैलोमा गई उनीहरूको समस्या सुन्न र जनता बुझाउन आग्रह गर्नुभयो। “साथै कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेको कुरा सबै मतदातासम्म पुर्याउन र उनीहरूलाई आत्मनिर्भर र देश निर्माणमा सहभागी बनाउने कुरा बुझाउन आवश्यक छ,” उहाँले जोड दिनुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend