काठमाडौँ : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र तयार गर्दैछ। प्रतिज्ञापत्र लेखन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ र यसले हरेक निर्वाचन क्षेत्रको प्राथमिकता समेट्नेछ।
यसैबीच स्वास्थ्य क्षेत्रमा समेट्नुपर्ने विषयमा शुभेच्छुक लोकतन्त्रवादी स्वास्थ्यकर्मीका तर्फबाट नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव दीपक मुडभरीले पार्टीका प्रवक्ता देवराज चालिसेलाई सुझावपत्र बुझाएका छन्।
उहाँले प्रतिज्ञापत्रमा ४१ बुँदामा स्वास्थ्य सेवासम्बन्धी प्रमुख विषय समेट्न आग्रह गर्नुभयो। सुझावपत्रमा उल्लेख भएअनुसार नेपालको स्वास्थ्य क्षेत्र हाल गुणस्तर, समानता र दीगोपनाको दृष्टिले चुनौतीपूर्ण अवस्थामा रहेको छ। नसर्ने रोग, क्यान्सर, मिर्गौला, मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेका छन् भने स्वास्थ्य जनशक्तिको पलायन, महँगो उपचार, गुणस्तरहिन उपकरण, असमान सेवा वितरण र कमजोर शासनले नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको छ।
संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघीय तहबीच प्रभावकारी समन्वय, पारदर्शी व्यवस्थापन र दीर्घकालीन रणनीति बिना “सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा” उपलब्ध गराउन कठिन भएकाले लोकतान्त्रिक राजनीतिक दलले स्पष्ट, व्यवहारिक र लोकमुखी स्वास्थ्य एजेन्डा आवश्यक रहेको सुझावपत्रमा उल्लेख छ्।
स्वास्थ्य सेवासम्बन्धी ४१ प्रमुख बुँदा (संक्षिप्त)
१. सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित।
२. स्वास्थ्य बीमा सबै क्षेत्रमा अनिवार्य र दाबी प्रक्रिया पारदर्शी।
३. नसर्ने रोग रोकथामका लागि जीवनशैली सुधार र निदानात्मक कार्यक्रम।
४. क्यान्सर, मिर्गौला, मुटु र जटिल रोगको एकद्वार उपचार प्रणाली।
५. स्थानीय तहमार्फत विद्यालय स्वास्थ्य, मानसिक स्वास्थ्य, दुर्व्यसन नियन्त्रण र आत्महत्या रोकथाम कार्यक्रम।
६. बाल स्वास्थ्य, पोषण, खोप र प्रजनन् स्वास्थ्य कार्यक्रम सुदृढीकरण।
७. प्रत्येक स्थानीय तहमा न्यूनतम मापदण्डसहित आधारभूत अस्पताल सञ्चालन।
८. स्वास्थ्य बजेटको १०% सुनिश्चित र दीर्घकालीन स्वास्थ्य नीति निर्माण।
९. दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा।
१०. टेलिमेडिसिन सेवाको प्रभावकारी सञ्चालन।
११. संघीय अस्पताल गुणस्तरीय सेवा।
१२. स्वास्थ्य विशेषज्ञ जनशक्ति उत्पादन, संरक्षण र पलायन रोक्ने प्याकेज।
१३. आयुर्वेद, योग र वैकल्पिक चिकित्साको प्रवर्द्धन।
१४. औषधि उद्योगमा आत्मनिर्भरता र गुणस्तर कायम।
१५. औषधि, उपकरण र सर्जिकल सामग्री खरिदमा पारदर्शिता।
१६. भौतिक संरचना, जनशक्ति व्यवस्थापन र गुणस्तरीय औषधि उपकरण।
१७. स्वास्थ्य अनुसन्धानमा लगानी।
१८. शुद्ध खानेपानी, सुरक्षित खाद्य प्रणाली र पोषण सुरक्षा।
१९. जलवायु परिवर्तनसँग सम्बन्धित स्वास्थ्य जोखिम न्यूनीकरण।
२०. जनस्वास्थ्य चेतना र मानसिक स्वास्थ्यमा प्राथमिकता।
२१. गाउँ–केन्द्रित गुणस्तरीय सेवा।
२२. प्रदेशस्तरीय सुपर स्पेसियालिटी अस्पताल।
२३. स्थानीय, प्रदेश र संघीय तहबीच स्पष्ट अधिकार र समन्वय।
२४. स्वास्थ्य संस्था र केन्द्रीय अस्पतालमा डिजिटलाइजेशन र EMR प्रणाली।
२५. निदानात्मक र उपचारात्मक सेवा कार्यक्रम।
२६. महामारी र प्राकृतिक विपत्तिका लागि Rapid Response Team।
२७. समावेशी र दीगो स्वास्थ्य प्रणाली।
२८. स्वास्थ्यमा लगानी दान नभइ समृद्ध नेपालको लागि।
२९. स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयन।
३०. निजी स्वास्थ्य संस्थाले १०% सेवा नि:शुल्क उपलब्ध गराउने।
३१. ज्येष्ठ नागरिक उपचार र प्यालेटिभ सेवा।
३२. दक्ष स्वास्थ्यकर्मी उत्पादन, तालिम र उचित सम्मान।
३३. चिकित्सा शिक्षा आयोग, स्वास्थ्य विश्वविद्यालय र CTEVT सुधार।
३४. अस्पतालमा डिजिटलाइजेशन र अनलाइन सेवा।
३५. अङ्ग दान र मस्तिष्क मृत्यु अङ्ग दान कानुनी व्यवस्था।
३६. एम्बुलेन्स सेवा तालिमप्राप्त स्वास्थ्यकर्मी सहित।
३७. सातै प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज।
३८. संघीय अस्पताललाई सुपर स्पेसियालिटी सेवा र मेडिकल कलेजको रूपमा सञ्चालन।
३९. स्वास्थ्य संस्था नेतृत्व योग्यता र कार्यक्षमतामा आधारित।
४०. उमेर समूह अनुसार स्थानीय स्वास्थ्य संस्थामा वार्षिक स्वास्थ्य जाँच।
४१. तिनै तहको सरकारले स्वास्थ्य सेवा प्रवाह, समान पहुँच र गुणस्तरीयता अनुगमन।
सुझावपत्रले समृद्ध नेपाल, सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र दीगो स्वास्थ्य प्रणाली निर्माणका लागि कांग्रेस प्रतिज्ञापत्रमा यस्ता बुँदा समावेश गर्न आवश्यक रहेको बताएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend