मोरङ : नेपाली कांग्रेस का नेता मीनेन्द्र रिजाल ले आमजनतामा देखिएको गहिरो निराशालाई चिर्न र देशलाई अस्थिरताको जोखिमबाट जोगाउन कांग्रेस निर्वाचनमा होमिएको बताउनुभएको छ। मोरङ–२ स्थित डाइनियामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले वर्तमान राजनीतिक र सामाजिक अवस्थाले नागरिकमा असन्तोष र निराशा बढाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक दिशामा रूपान्तरण गर्न चुनावी प्रक्रिया महत्त्वपूर्ण अवसर भएको बताउनुभयो।
उहाँले मुलुकलाई द्वन्द्व, उत्तेजना र अराजकतातर्फ धकेल्ने प्रवृत्तिबाट जोगाउन जिम्मेवार राजनीतिक शक्ति आवश्यक रहेको धारणा राख्नुभयो। “देशमा निराशा गहिरिँदै जाँदा कुनै पनि बेला अवस्था विस्फोटक बन्न सक्छ। आगो लगाउने तत्वबाट मात्र होइन, आगो लगाउन बाध्य पार्ने परिस्थिति सिर्जना गर्ने प्रवृत्तिबाट पनि देशलाई जोगाउनुपर्छ,” उहाँले भन्नुभयो।
मोरङ–२ का उम्मेदवारसमेत रहनुभएका रिजालले पार्टी एकताबद्ध रूपमा चुनावी मैदानमा उत्रिएको बताउँदै परिवर्तन, स्थिरता र विकासका लागि संगठित प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले पार्टी अभियान गगन थापा को नेतृत्वमा केन्द्रित र सक्रिय रूपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो।
निर्वाचन नजिकिँदै जाँदा जनतामा विगतका निराशा हटाउँदै आशा जगाउने प्रयास भइरहेको बताउँदै उहाँले अब विनाश होइन विकासको बाटो रोज्ने चेतना फैलिरहेको दाबी गर्नुभयो। “नागरिकहरू विस्तारै उत्साहित बन्दै गएका छन्। चुनावलाई परिवर्तनको माध्यमका रूपमा लिन थालेका छन्,” उहाँको भनाइ थियो।
नेता रिजालले मोरङ–२ क्षेत्रमा विगतदेखि हुँदै आएको विकास निर्माणको कामको पनि स्मरण गर्नुभयो। २०४८ सालदेखि यस क्षेत्रबाट तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला निर्वाचित भएपछि पूर्वाधार विकासले गति लिएको उहाँले बताउनुभयो। रतुवा खोलामा पुल निर्माणपछि आवतजावत सहज भएको, झापासम्म जोड्ने हुलाकी सडक निर्माण अघि बढेको तथा विभिन्न ग्रामीण सडक विस्तारका काम सम्पन्न भएको उहाँको भनाइ थियो।
सिक्टीदेखि उत्तर डाइनियासम्म सडक विस्तारका लागि करिब २५ करोड रुपैयाँ बराबरको बहुवर्षीय योजना अघि बढाइएको जानकारी दिँदै उहाँले नदी–खोला धेरै रहेको भूगोल भएकाले तटबन्ध र पुल निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो। रतुवामाई नगरपालिका–९ देखि सुनवर्षी नगरपालिका–२ स्थित अमरदह क्षेत्र जोड्ने बक्राह खोलामा पुल निर्माण योजना पनि अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो।
उहाँले सुकुम्बासी समस्या समाधान, तटबन्ध निर्माण, स्थानीय पूर्वाधार सुदृढीकरण र सुरक्षित आवतजावतका लागि थप योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मोरङ–२ क्षेत्रमा कानेपोखरी गाउँपालिकाका १, २ र ३ नम्बर वडा, पथरी–शनिश्चरे नगरपालिकाका ५ र ६ नम्बर वडा, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ नम्बर वडा, रतुवामाई नगरपालिकाका १ देखि १० नम्बर वडा तथा सुनवर्षी नगरपालिकाका १ देखि ९ नम्बर वडा समेटिएका छन्। यस क्षेत्रमा कुल १ लाख २९ हजारभन्दा बढी मतदाता रहेका छन्।
इतिहासतः कांग्रेसको बलियो आधार क्षेत्र मानिने मोरङ–२ मा विगतका विभिन्न निर्वाचनमा कांग्रेस उम्मेदवारहरूले जित हासिल गर्दै आएका छन्। पछिल्ला चुनावी प्रतिस्पर्धाले क्षेत्रलाई थप चासोको केन्द्र बनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend