logo

२०८३ साउन १४ बिहिबार

चुनाव कसले जित्छ होइन, देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा

चुनाव कसले जित्छ होइन, देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा


हाम्रो राष्ट्र
  • शनिबार, २ फाल्गुन २०८२
  • 1.8K
    SHARES

    तानसेन : नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले अहिलेको राजनीतिक अवस्थालाई केवल चुनावी प्रतिस्पर्धाको दृष्टिले मात्र नहेर्न आग्रह गर्दै देशलाई कसले एकताबद्ध रूपमा अगाडि बढाउन सक्छ भन्ने नै मुख्य प्रश्न भएको बताउनुभएको छ।

    पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले चुनाव जित्ने–हार्ने विषय दोस्रो तहको प्रश्न भएको उल्लेख गर्दै मुलुकलाई समन्वय, स्थिरता र साझा दिशामा लैजान सक्ने नेतृत्वको खोजी अहिलेको आवश्यकता भएको बताउनुभयो।

    जिल्लाका कांग्रेसका दुवै उम्मेदवार सहभागी रहेको कार्यक्रममा उहाँले समयअगावै चुनाव हुनुपरेको पृष्ठभूमि, सामाजिक अस्थिरता र हिंसात्मक घटनाका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले विगतका घटनाबाट पाठ सिक्दै अब देशलाई सही ढंगले अघि बढाउने साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

    शर्माले भविष्यतर्फ संकेत गर्दै जेन–जीपछि आउने अल्फा पुस्तासमेत असन्तुष्ट भएर विद्रोहमा उत्रिने अवस्था आउन नदिन आजैबाट नयाँ सोच, नयाँ योजना र जिम्मेवार नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो। “अबको बहस केवल सत्ता कसले चलाउने भन्ने होइन, देश कसरी जोगाउने र जोड्ने भन्ने हुनुपर्छ,” उहाँले भन्नुभयो।

    उहाँले चुनावी परिणाम जे आए पनि त्यसपछि सबै शक्ति देश निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। नयाँ आशा र नयाँ विश्वास जगाउने काम राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन आग्रह गर्नुभयो।

    चुनावी मैदानमा रहेका अन्य दल र उम्मेदवारलाई शत्रुका रूपमा नलिन पार्टी पंक्तिलाई निर्देशन दिँदै उहाँले कांग्रेसले हार्दिक र सभ्य प्रतिस्पर्धाको नीति लिएको स्पष्ट पार्नुभयो। “आलोचना आवश्यक परे तथ्य र तर्कका आधारमा गर्छौं, तर गाली–गलौज र द्वेष फैलाउने काम गर्दैनौं,” उहाँले भन्नुभयो।

    देश गाँस्ने सोच, सहकार्यको भावना र जिम्मेवार राजनीतिक संस्कारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको जोड थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend