जाजरकोट: जाजरकोटको शिवालय गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले क्षेत्र तथा प्रदेशमा हालसम्म सम्पन्न भएका विभिन्न विकास निर्माणका योजनाबारे प्रकाश पारे। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्दै आगामी दिनमा अझ तीव्र रूपमा विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
शाहले जनताको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न संघीय संसदमा सशक्त प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गर्दै फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडक बहादुर बुढालाई विजयी गराउन आग्रह गरे। उनले नेपाली कांग्रेसको नेतृत्वमा जाजरकोटको समृद्धि र विकासको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूले आफ्ना समस्या, सुझाव तथा अपेक्षाहरू पनि राखेका थिए। कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend