नवलपरासी
: नारायणी नदीमाथि निर्माण सम्पन्न भई सञ्चालनमा आएको झोलुङ्गे पुलमार्फत बिनोद चौधरी सुस्ता पारि पुगेर मतदातासँग घरदैलो कार्यक्रम गरेका छन्। २०७९ सालमा निर्वाचनका बेला अलपत्र अवस्थामा रहेको उक्त पुल अहिले सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा आएको परिवर्तनलाई आधार बनाउँदै उनले मत मागेका हुन्।
पुल निर्माणअघि सुस्ता पारिका नागरिकहरू जोखिमपूर्ण डुंगा यात्रामा निर्भर रहन बाध्य थिए। बिरामी पर्दा, आकस्मिक काम पर्दा वा रात–विरात आवतजावत गर्नुपर्दा ठूलो समस्या झेल्नुपर्ने अवस्था थियो। झोलुङ्गे पुल सञ्चालनमा आएपछि भने आवतजावत सहज बनेको, व्यापारिक गतिविधि बढेको तथा स्थानीय जीवनस्तरमा सुधार आएको बासिन्दाहरू बताउँछन्।
घरदैलोका क्रममा चौधरीले पुल निर्माण सम्पन्न हुनु क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा थप पूर्वाधार विकास, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मोटरसाइकल चढेर पुल पार गर्दै सुस्ता पुगेका उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुझाव तथा गुनासा पनि सुनेका थिए।
स्थानीयवासीले पुल निर्माणपछि आएको परिवर्तनप्रति खुसी व्यक्त गर्दै विकासको निरन्तरताको अपेक्षा गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा सुस्तामा झोलुङ्गे पुल विकासको मुख्य एजेन्डा बनेको देखिन्छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend