logo

२०८३ साउन १४ बिहिबार

नेपाली कांग्रेसद्वारा ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना, उम्मेदवार बन्नुअघि अनिवार्य पब्लिक पोलिसी कक्षा

नेपाली कांग्रेसद्वारा ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना, उम्मेदवार बन्नुअघि अनिवार्य पब्लिक पोलिसी कक्षा


हाम्रो राष्ट्र
  • शुक्रबार, १३ चैत्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेस ले पार्टीभित्र नेतृत्व विकास, नीतिगत स्पष्टता र सार्वजनिक जिम्मेवारी सम्हाल्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने निर्णय गरेको छ।

    सभापति गगन थापा को अध्यक्षतामा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने औपचारिक निर्णय गरेको हो। पार्टीले आन्तरिक तथा सार्वजनिक नेतृत्व विकासका लागि निश्चित पाठ्यक्रम तयार गरी नियमित कक्षा सञ्चालन गर्ने जनाएको छ।

    यो एकेडेमी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहनेछ। एकेडेमीमार्फत कांग्रेसको इतिहास, सिद्धान्त, विचारधारा, संगठनात्मक संरचना, पार्टीको ध्येय तथा आदर्शबारे व्यवस्थित अध्ययन गराइनेछ। साथै पार्टीको आर्थिक नीति, विकास नीति, सामाजिक नीति, सुशासन, सार्वजनिक प्रशासन, संघीयता, समावेशिता, लोकतन्त्र, सार्वजनिक नीति निर्माण प्रक्रिया लगायत विषयमा प्रशिक्षण दिइने तयारी गरिएको छ।

    पार्टीमा क्रियाशील रहेका सदस्य तथा नवीकरण हुने सदस्यहरूलाई पार्टीका अद्यावधिक नीति, कार्यक्रम, प्राथमिकता र समसामयिक नीतिगत विषयबारे पुनर्ताजगी (रिफ्रेसर) तालिम पनि प्रदान गरिनेछ। यसले पार्टी सदस्यलाई समयानुकूल सोच, नीति र कार्यक्रमबारे स्पष्ट बनाउने विश्वास गरिएको छ।

    त्यसैगरी, पार्टीको तर्फबाट निर्वाचित स्थानीय तह, प्रदेश सभा र संघीय संसद्का जनप्रतिनिधिलाई पनि अनुशिक्षण गरिनेछ। जनप्रतिनिधिहरूलाई नीति निर्माण, बजेट, योजना, कानुन निर्माण प्रक्रिया, सुशासन, विकास व्यवस्थापन, सार्वजनिक उत्तरदायित्व लगायत विषयमा विषयगत तालिम दिइनेछ।

    पार्टीले भविष्यमा जनप्रतिनिधि बन्न चाहने, उम्मेदवार बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भूमिकामा जिम्मेवारी लिन चाहने व्यक्तिहरूका लागि आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकासका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

    केन्द्रीय समितिको निर्णयअनुसार अब सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा कम्तीमा तीन महिना अगाडि ‘पब्लिक पोलिसी’ सम्बन्धी कक्षा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिनेछ। ‘कांग्रेस लिडरसिप एकेडेमी’ मार्फत सञ्चालन हुने निश्चित कक्षा पूरा गरे–नगरेको आधारलाई पार्टीको उम्मेदवारी छनोट र जिम्मेवारी प्रदान गर्ने प्रक्रियासँग समेत जोडिने निर्णय गरिएको छ।

    पार्टीभित्र नेतृत्व विकासलाई व्यवस्थित, संस्थागत र नीतिगत बनाउने उद्देश्यले यो एकेडेमी स्थापना गर्न लागिएको नेताहरूको भनाइ छ। यसलाई पार्टीभित्र अध्ययन, अनुसन्धान, प्रशिक्षण र नेतृत्व उत्पादन गर्ने दीर्घकालीन संरचनाको रूपमा हेरिएको छ।

    नेपाली कांग्रेसले यो निर्णयलाई पार्टीभित्र सक्षम, प्रशिक्षित, नीतिगत रूपमा स्पष्ट र जिम्मेवार नेतृत्व उत्पादन गर्ने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ। राजनीतिमा आउन चाहने व्यक्तिहरूका लागि अब अध्ययन, प्रशिक्षण र नीति बुझाइ अनिवार्य जस्तै बनाउने दिशामा पार्टी अघि बढेको देखिन्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend