काठमाडौं – नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्टडी कनेक्ट नेपाल (SCN) ले काठमाडौंको कमलादीस्थित आफ्नै कार्यालयमा फ्रान्सको प्रतिष्ठित ‘एमलियोन बिजनेस स्कूल’ (emlyon business school) सँग एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। विश्वका उत्कृष्ट १ प्रतिशत बिजनेस स्कूलभित्र पर्ने यस संस्थाले नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाका विभिन्न अवसरहरूबारे जानकारी प्रदान गरेको हो।
कार्यक्रममा बोल्दै एमलियोन बिजनेस स्कूलका इन्डिया सब-कन्टिनेन्टका अपरेसन डाइरेक्टर मोहित आनन्दले आफ्नो संस्थाले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र उद्यमशील सोच विकास गर्न केन्द्रित गर्ने बताउनुभयो। उहाँले फ्रान्समा अध्ययन गर्दा विद्यार्थीहरूले पाउने छात्रवृत्ति, इन्टर्नसिप र त्यहाँको विद्यार्थी जीवनका उत्कृष्ट पक्षहरूबारे चर्चा गर्दै नेपाली विद्यार्थीहरूको क्षमता अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रहेको उल्लेख गर्नुभयो।
यसैगरी, स्टडी कनेक्ट नेपालका संस्थापक एवं सीईओ प्रकाश ढकालले आफ्नो संस्थाले स्थापनाकालदेखि नै फ्रान्सेली कलेज र विश्वविद्यालयहरूको प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो। ढकालले फ्रान्सलाई नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन स्टडी कनेक्ट नेपालले सुरुदेखि नै अग्रणी भूमिका खेल्दै आएको चर्चा गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरूलाई सही र आधिकारिक सूचनामार्फत विश्वका उत्कृष्ट विश्वविद्यालयहरूसम्म पुर्याउनु हो।”
कार्यक्रममा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले भर्ना प्रक्रिया, छात्रवृत्ति र भिसा प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए। स्टडी कनेक्ट नेपालको यो पहलले फ्रान्समा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि थप सहजता र स्पष्टता प्रदान गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend