काठमाडौं, वैशाख ६ — श्रीलङ्काको विशिष्ट स्वाद र मौलिक परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरस्थित भिभान्ता होटलको MYNT (मिन्ट) रेस्टुरेन्टमा “फ्लेवर्स अफ श्रीलङ्का” (Flavours of Sri Lanka) खाना महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ।
नेपालका लागि श्रीलङ्काकी राजदूत महामहिम रुवान्ती देल्पितियाले अप्रिल १२ मा आयोजित विशेष समारोहबीच रिबन काटेर महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले श्रीलङ्कन परम्परा अनुसार पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गर्नुभएको थियो। उद्घाटन समारोहमा काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू, चेम्बर अफ कमर्सका नेतृत्वकर्ता तथा प्रतिष्ठित व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै राजदूत देल्पितियाले उक्त महोत्सव केवल खानाको प्रदर्शनी मात्र नभई नेपाल र श्रीलङ्काबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
अप्रिल १२ देखि १८ सम्म सञ्चालन भएको महोत्सव अवधिभर आगन्तुकहरूले श्रीलङ्काको प्रख्यात सिलोन मसला, नरिवल तथा ताजा समुद्री परिकारबाट तयार गरिएका मौलिक भोजनको स्वाद लिन पाए। विशेषगरी कोट्टु रोटी, हपर्स (अप्पम), राइस एण्ड करी लगायतका परिकार तथा वातलाप्पम, काभुम र कोकिस जस्ता परम्परागत मिठाईहरू मुख्य आकर्षण बनेका थिए।
यस अवसरमा कोलम्बोस्थित ताज समुद्र होटलका प्रख्यात शेफ प्रशन्थ गुणसेकराले तयार पारेका परिकारहरूले श्रीलङ्काली पाककलाको विविधता र मौलिकता झल्काएका थिए। महोत्सवभर आगन्तुकहरूलाई प्रामाणिक श्रीलङ्काली स्वाद पस्किन विशेष व्यवस्था गरिएको थियो।
कार्यक्रमले श्रीलङ्काको संस्कृति, आतिथ्यता र खाद्य परम्पराको प्रभावकारी प्रवर्द्धन गर्नुका साथै नेपाल र श्रीलङ्काबीचको सांस्कृतिक तथा पर्यटन सहकार्यलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। यसैबीच, हप्ताभर सञ्चालन भएको उक्त खाना महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend