लन्डन/प्रेस्टन
बेलायतको प्रेस्टनस्थित नेपाली समुदाय र लन्डनस्थित नेपाली दूतावासबीचको सम्बन्धमा एउटा नयाँ र सकारात्मक अध्यायको सुरुवात भएको छ। विगत लामो समयदेखि ओझेलमा परेको महसुस गरिरहेका प्रेस्टनवासी नेपालीहरूले अहिले दूतावासको सेवा र सद्भावलाई आफ्नै घरदैलोमा महसुस गर्न थालेका छन्।
यसै क्रममा, नेपाली समाज प्रेस्टन (Nepali Samaj Preston CIC) र नेपाली दूतावास लन्डनको संयुक्त सहकार्यमा गत ३ मे २०२६ मा प्रेस्टनमा एक विशेष कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत करिब ३० जना नेपाली सेवाग्राहीहरूले राहदानी (पासपोर्ट) नवीकरण तथा अन्य कन्सुलर सेवाहरू सहजै प्राप्त गरेका छन्।
नेतृत्वको प्रशंसा र नयाँ ऊर्जा
दूतावासको यो सक्रियता र समुदायसँगको निकटताको पछाडि कार्यवाहक राजदूत (Charge d’Affaires) बिपिन दुवाडीको विशेष भूमिका रहेको समुदायले जनाएको छ। कार्यक्रममा बोल्दै प्रेस्टन नेपाली समाजका अध्यक्ष हरि कार्कीले भन्नुभयो, “विदेश बसाइको दुई दशकमा पहिलोपटक दूतावास आफ्नै जस्तो महसुस भएको छ। कार्यवाहक राजदूतज्यूले व्यक्तिगत रूपमा फोन गरेर हाम्रो सामाजिक कामको सराहना गर्दा र दूतावास केवल लन्डनमा मात्र सीमित छैन भन्ने अठोट व्यक्त गर्दा हामीमा नयाँ ऊर्जा मिलेको छ।”
मेयर र कार्यवाहक राजदूतको उपस्थितिमा सम्मान
यसअघि २७ अप्रिल २०२६ मा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा कार्यवाहक राजदूत दुवाडी र नेपालको मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा मेयर श्रेष्ठले प्रेस्टनमा नेपालीहरूले गरिरहेको सामाजिक र सांस्कृतिक कार्यको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा समुदायका अग्रजहरू सत्यन राजभण्डारी, सनिता राजभण्डारी र विकास मोहन भट्टराईलाई उहाँहरूको योगदानको कदर गर्दै खादा लगाएर सम्मान गरिएको थियो।
चुनौतीका बीच उदाउँदो समुदाय
“बेलायत अवसरको खानी हो, तर यहाँ टिक्न सीप र आर्थिक व्यवस्थापन अनिवार्य छ,” भन्ने निष्कर्षसहित प्रेस्टनको नेपाली समाजले विद्यार्थी र पेशाकर्मीहरूका लागि विभिन्न सचेतनामूलक छलफलहरू गर्दै आएको छ। कोभिड-१९ को समयमा स्यानिटाइजर र खाना वितरणदेखि सांस्कृतिक पर्वहरूको जगेर्नासम्म यो समाज निरन्तर सक्रिय रहँदै आएको छ।
यस अभियानलाई सफल बनाउन श्याम दाहाल र सुशील गौतमले स्वयंसेवकका रूपमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको अध्यक्ष कार्कीले उल्लेख गर्नुभयो। साथै, नेपाली लिंकका सम्पादक नवीन पोखरेल र ध्रुवराज अर्यालले समुदायको आवाजलाई दूतावाससम्म पुर्याउन सेतुको काम गर्नुभएकोमा समाजले धन्यवाद ज्ञापन गरेको छ।
अध्यक्ष कार्कीका अनुसार, यो कन्सुलर क्याम्प केवल प्राविधिक सेवा मात्र नभई समुदायप्रति राज्यले देखाएको सम्मानको प्रतीक हो। यसले आगामी दिनमा नेपाली समाज प्रेस्टनलाई अझ सशक्त र संगठित रूपमा अघि बढ्न प्रेरित गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend