काठमाडौं, बीपीपी (BPP) मेलबर्न क्याम्पसले “द अफिसियल रिप्रिजेन्टेटिभ” सँगको सहकार्यमा सोमबार काठमाडौंको होटल बाराहीमा “गेटवे टु अष्ट्रेलिया: बीपीपी एक्स्ट्राक्लुसिभ नाइट” सफलताका साथ सम्पन्न गरेको छ। यस विशेष साँझको मुख्य उद्देश्य अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि त्यहाँको शैक्षिक वातावरण र करियरका अवसरहरूबारे विस्तृत जानकारी प्रदान गर्नु रहेको थियो।
कार्यक्रममा बोल्दै बीपीपी विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रमुख ड्यारिल कोनेल-ग्लास र नेपालका लागि कन्ट्री म्यानेजर शिव केसीले बीपीपीका शैक्षिक कार्यक्रमहरू र तिनले विद्यार्थीको व्यावसायिक जीवनमा खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँहरूले बीपीपी मेलबर्न क्याम्पसले विद्यार्थीहरूलाई व्यावहारिक र कार्यस्थलमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
त्यसैगरी, बीपीपीका क्लाइन्ट सपोर्ट म्यानेजर नादिर रशिद खानले अष्ट्रेलिया पुगेपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पाउने सहयोग संयन्त्र र विभिन्न स्रोतहरूको बारेमा चर्चा गर्नुभयो। उहाँले विश्वविद्यालयले विद्यार्थीको भर्नादेखि बसोबाससम्मका हरेक चरणमा सहयोग गर्ने कुरामा जोड दिनुभयो।
“द अफिसियल रिप्रिजेन्टेटिभ” का पार्टनर रिलेसन्सिप म्यानेजर बिबाश रिमालले स्थानीय शैक्षिक एजेन्टहरू र विश्वविद्यालयबीचको साझेदारीको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले आफ्नो संस्थाले विद्यार्थीहरूलाई पारदर्शी, सही र भरपर्दो सूचना प्रदान गर्दै आवेदन प्रक्रियालाई सरल र सहज बनाउन बीपीपीसँग निकट रहेर काम गरिरहेको बताउनुभयो।
यस कार्यक्रमले नेपाली शिक्षाविद् र परामर्शदाताहरूलाई अष्ट्रेलियाको पछिल्लो शैक्षिक नीति र बीपीपी मेलबर्न क्याम्पसले अफर गरेका विशेष छात्रवृत्ति तथा सुविधाहरूबारे प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend