काठमाडौं, भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङको ‘टिम फ्लक्सेल’ (Team Fluxelle) ले विश्वकै ठूलो विद्यार्थी-नेतृत्वयुक्त स्टार्टअप प्रतिस्पर्धा मध्येको एक ‘हल्ट प्राइज नेपाल २०२६’ को राष्ट्रिय उपाधि चुमेको छ। शनिबार ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सम्पन्न फाइनलमा कफीको फोहोरलाई प्रयोग गरी च्याउ उत्पादन गर्ने दिगो र ‘सर्कुलर इकोनोमी’मा आधारित व्यावसायिक अवधारणा प्रस्तुत गर्दै टोली राष्ट्रिय विजेता बनेको हो। नेपालभरका ४६ कलेजका १६० भन्दा बढी सहभागीहरूलाई पछि पार्दै टिम फ्लक्सेलले यो सफलता प्राप्त गरेको हो।
यस प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेका विशिष्ट अतिथिहरूले युवाहरूको सोचलाई उच्च प्रशंसा गरे। कार्यक्रमकी मुख्य अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले युवा नवप्रवर्तकहरूलाई उद्यमशीलतामार्फत सामाजिक र वातावरणीय चुनौतीको समाधान खोज्न प्रेरित गर्नुभयो। त्यस्तै, विशेष अतिथिको रूपमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशको भविष्य निर्माणमा युवा नेतृत्वको आविष्कारको ठूलो भूमिका रहने बताउनुभयो। ब्रिटिश काउन्सिल नेपालकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले नवीनता र नेतृत्वमार्फत नेपाली विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरू खुल्ला रहेको बताउँदै सहभागीहरूको उत्साह बढाउनुभएको थियो।
त्यसैगरी, हल्ट प्राइज नेपालकी नेशनल एडभाइजर सुबी काफ्लेले आफ्नो विगतको हल्ट प्राइज यात्राको अनुभव सुनाउँदै विद्यार्थीहरूलाई हार नखाई आफ्नो सोचलाई अझ परिष्कृत गर्न सुझाव दिनुभयो। अमेरिकन ल्याङ्ग्वेज सेन्टरकी निर्देशक स्नेहा बंशलले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र सञ्चार कलाको विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। टिम फ्लक्सेलले प्रारम्भिक पिचिङ र निर्णायकहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरको दुई कठिन चरण पार गर्दै १४ सदस्यीय प्रतिष्ठित निर्णायक मण्डललाई प्रभावित पारेको थियो, जसमा निकिता बज्राचार्य, ऋतु सिंह वैद्य र श्रद्धा श्रेष्ठ लगायतका विज्ञहरू सहभागी थिए।
राष्ट्रिय च्याम्पियन बनेसँगै टिम फ्लक्सेलले १ लाख रुपैयाँ नगद र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) बाट ५० हजार रुपैयाँ बीउ पूँजी (Seed Funding) प्राप्त गरेको छ। ब्रिटिश काउन्सिलद्वारा प्रस्तुत र युवा सोलुसन्स (UBA Solutions) द्वारा आयोजित यस कार्यक्रमको समापनमा विजेताहरूलाई अवार्ड र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। अब यो टोलीले अन्तर्राष्ट्रिय स्तरको ‘हल्ट प्राइज ग्लोबल एक्सेलेटर प्रोग्राम’ मा नेपालको प्रतिनिधित्व गर्नेछ। कार्यक्रमलाई बीवाईडी (BYD), क्लासिक टेक र जुपिटर मिडिया लगायतका विभिन्न व्यापारिक तथा सञ्चार साझेदारहरूले सहयोग गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend