काठमाडौं, केप ब्रेटन विश्वविद्यालय (CBU) र ICCC पुतलीसडकको संयुक्त आयोजनामा गत मे ८, २०२६ मा एक विशेष जानकारी सत्र सफलतापूर्वक सम्पन्न भएको छ। पुतलीहब बिल्डिङमा आयोजित उक्त कार्यक्रममा क्यानडामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूले विश्वविद्यालयका वरिष्ठ अन्तर्राष्ट्रिय भर्ती विज्ञहरू ब्रेट म्याक्लिन र सायनी दाससँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाएका थिए। विज्ञहरूले क्यानडाको शैक्षिक प्रणाली, भर्ना प्रक्रिया र भिसा आवेदनका बारेमा विस्तृत जानकारी प्रदान गर्दै विद्यार्थीहरूको जिज्ञासा मेटाउनुभएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूलाई क्यानडाको शैक्षिक वातावरण र त्यहाँ उपलब्ध सुविधाहरूका बारेमा स्पष्ट धारणा बनाउन ठूलो मद्दत पुर्याएको छ।
क्यानडाको नोभा स्कोटियास्थित सिड्नीमा अवस्थित केप ब्रेटन विश्वविद्यालय एक प्रतिष्ठित सार्वजनिक शैक्षिक संस्था हो। सन् १९७४ मा स्थापना भएको यो विश्वविद्यालय शैक्षिक उत्कृष्टता र सामुदायिक विकासका लागि परिचित छ। हाल यहाँ विश्वका ७० भन्दा बढी देशका करिब ७,००० विद्यार्थीहरू अध्ययनरत छन्। CBU ले साना कक्षा कोठाको वातावरण र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिने गर्दछ, जसले गर्दा विद्यार्थीहरूले शिक्षकहरूसँग प्रत्यक्ष संवाद गर्ने र व्यवहारिक सीप सिक्ने अवसर पाउँछन्। यहाँको शानन स्कुल अफ बिजनेस र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै लोकप्रिय मानिन्छन्।
यस सत्रमा विश्वविद्यालयका केही लोकप्रिय कोर्षहरूका बारेमा पनि चर्चा गरिएको थियो। विशेषगरी एमबीए (MBA) इन कम्युनिटी इकोनोमिक डेभलपमेन्ट र विभिन्न विधाका पोष्ट-ब्याकालुरेट डिप्लोमा (बिजनेस म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, र बिजनेस एनालिटिक्स) प्रति विद्यार्थीहरूको आकर्षण बढी देखिएको थियो। साथै, ब्याचलर अफ हेल्थ साइन्स इन पब्लिक हेल्थ र ब्याचलर अफ हस्पिटालिटी एण्ड टुरिज्म म्यानेजमेन्ट जस्ता कोर्षहरू पनि नेपाली विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेका छन्। यस्ता व्यावसायिक र सीपमूलक कार्यक्रमहरूले गर्दा विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीका अवसरहरू प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ। यस सफल कार्यक्रमले क्यानडा जाने लक्ष्य राखेका विद्यार्थीहरूलाई एक ठोस मार्गनिर्देशन प्रदान गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend