काठमाडौं, नेपालस्थित इस्रायल दूतावासले इस्रायल राज्यको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा एक विशेष स्वागत समारोहको आयोजना गरेको छ। उक्त कूटनीतिक कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू, राजनीतिक नेताहरू, कूटनीतिक नियोगका सदस्यहरू, सञ्चारकर्मीहरू र इस्रायलका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
अतिथिहरूलाई स्वागत गर्दै नेपालका लागि इस्रायली राजदूत श्मुलिक अरी बासले दुई देशबीचको गहिरो सम्बन्धमाथि प्रकाश पार्नुभयो:
“यो अवसर इस्रायलको राष्ट्रिय यात्राको उत्सव मात्र नभई हाम्रा दुई देशबीचको मित्रता, साझेदारी र साझा आकांक्षाहरूको उत्सव पनि हो। स्थापनाकालदेखि नै इस्रायलले सीमिततालाई नवप्रवर्तन (innovation) मा बदल्न सिकेको छ। नवप्रवर्तनको यो भावना नेपालका लागि पनि विशेष अर्थपूर्ण छ।”
राजदूत बासले नेपालको नयाँ सरकारले तय गरेका आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि र युवा अवसरहरूका प्राथमिकतामा इस्रायल आफ्नो जल व्यवस्थापन, कृषि, प्रविधि र उद्यमशीलताको अनुभव र सहयोग बाँड्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो।
कार्यक्रमका मुख्य आकर्षणहरू:
सांस्कृतिक कार्यक्रम: प्रख्यात इस्रायली सङ्गीतकार मिस्टर एलेक्स पोल्याकले विशेष सङ्गीतिक प्रस्तुति दिनुभएको थियो। त्यसपछि इस्रायलको ७८ वर्षको उपलब्धि र लचिलोपनको सम्मानमा सामूहिक टोस्ट (बधाई ज्ञापन) गरिएको थियो।
विश्वव्यापी नवप्रवर्तनको प्रदर्शन: एआई (AI) द्वारा निर्मित एक भिडियोमार्फत विश्व प्रविधिमा इस्रायलको योगदान देखाइएको थियो। जसमा भाइबर (Viber), युएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ), थोपा सिँचाइ (drip irrigation), वेज (Waze), विश्वकै पहिलो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म आईसीक्यू (ICQ), फाइभर (Fiverr), डिसेलिनेसन (नुनिलो पानीलाई पिउने योग्य बनाउने प्रविधि), रिवाक (ReWalk – हिँड्न मद्दत गर्ने रोबोटिक्स), पिलक्याम (PillCam), चेकपोइन्ट (CheckPoint), मल्टिपल स्क्लेरोसिस स्वास्थ्य अनुसन्धान, र हालै ३२ अर्ब अमेरिकी डलरमा बिक्री भएको क्लाउड सुरक्षा कम्पनी विज (Wiz) जस्ता आविष्कारहरू प्रस्तुत गरिएका थिए।
नेपाल-इस्रायल जनसम्बन्ध: अर्को एक विशेष भिडियोमा माशाभ (MASHAV) तालिम कार्यक्रम, केयरगिभर (केयरगिभिङ क्षेत्र), र ‘लर्न एन्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रममार्फत आफ्नो जीवन र करियरमा सकारात्मक परिवर्तन ल्याउन सफल तीन नेपालीहरूको प्रेरणादायी कथा प्रस्तुत गरिएको थियो।
सङ्कटमा दृढता: कार्यक्रममा इस्रायलले सामना गरिरहेका निरन्तरका चुनौतीहरूका बीच त्यहाँको दृढता, एकता र सङ्कल्पलाई झल्काउने छुट्टै भिडियो समेत प्रदर्शन गरिएको थियो।
नेपाल र इस्रायलबीचको स्थायी मित्रता, आपसी सहयोग र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धताका साथ नेटवर्किङ रिसेप्सनसँगै कार्यक्रम समापन भएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend