
काठमाडौँ — नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूसँग जोड्ने उद्देश्यका साथ ‘म्याप्स इडियु ग्लोबल एजुकेशन समिट २०२६’ काठमाडौँमा सम्पन्न भएको छ। उक्त शिखर सम्मेलनले अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यलाई सुदृढ गर्दै नेपाली विद्यार्थीहरूका लागि विश्वव्यापी शैक्षिक मार्गहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन्।
कार्यक्रमको शुभारम्भ गर्दै म्याप्स इडियुका बिजनेस डेभलपमेन्ट म्यानेजर सेनिसा बानियाँले उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई स्वागत गरेकी थिइन्। त्यसैगरी, म्याप्स इडियुका चिफ मेन्टर पार्थ सारथी गाङ्गुलीले आफ्नो स्वागत मन्तव्यका क्रममा संस्थाको मुख्य मर्ममाथि प्रकाश पारेका थिए। उनले एजेन्सी र विश्वविद्यालयहरूलाई विश्वभर जोड्ने एक विश्वसनीय नेटवर्कको रूपमा म्याप्स इडियुले काम गरिरहेको बताए। उनले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय गतिशीलताका लागि पारदर्शी र भरपर्दो माध्यम निर्माण गर्नु आवश्यक रहेको औंल्याउँदै सम्मेलनमा सहभागी बेलायतका दुई विश्वविद्यालय र क्यानाडाको एक कलेजलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका थिए।
शिखर सम्मेलनमा बेलायतको बर्मिङ्घम न्यूम्यान युनिभर्सिटीका तर्फबाट गरिमा बंसल र शिवानी गुप्ताले प्रस्तुतीकरण दिँदै आफ्नो विश्वविद्यालयको पाठ्यक्रम र रोजगारमुखी शिक्षाबारे जानकारी गराएका थिए। उनीहरूले विशेष गरी एमबीए, मास्टर अफ पब्लिक हेल्थ, र डेटा साइन्स जस्ता विधाहरूमा जोड दिएका थिए। त्यस्तै, बेलायतकै हार्पर एडम्स युनिभर्सिटीका प्रतिनिधि गोपाल कृष्णले कृषि, फूड सप्लाई चेन म्यानेजमेन्ट र इन्जिनियरिङका प्राविधिक कोर्सहरूबारे प्रस्ट पारेका थिए।
क्यानडाको शेरिडान कलेजका तर्फबाट नितेश जङ्ग कार्कीले त्यहाँको व्यावहारिक शिक्षा प्रणाली, कम्प्युटिङ, साइबर सेक्युरिटी र बिजनेस कोर्सहरूको महत्त्वमाथि प्रकाश पारेका थिए। कार्यक्रमको समापनमा सम्पूर्ण सहभागी प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। यस सम्मेलनले नेपाली शैक्षिक परामर्शदाता र विद्यार्थीहरूलाई बेलायत तथा क्यानडाको उच्च शिक्षाबारे विस्तृत र आधिकारिक जानकारी प्रदान गरेको दाबी गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend